'लकडाउन' खुकुलो पार्ने तयारीबाट पछि हट्यो सरकार, जेठ २ सम्म उडान प्रतिवन्ध

Advertisement

काठमाडौँ । कोरोना महामारी रोकथाम गर्न लागू गरिएको लकडाउन खुकुलो पार्ने तयारीबाट सरकार पछि हटेको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ ।

लकडाउन खुकुला नबनाउँदा मुलुक आर्थिक सामाजिक परिस्थिति चौपट भएको भन्दै खुकुलो बनाउन दबाब बढिपछि यसअघि सरकारी अधिकारीहरु खुकुलो पार्ने संकेत दिएका थिए । यसअघिको मन्त्रिपरिषदले अबको लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

उच्चस्तरीय समितिले यसको जिम्मा मुख्यसचिव नेतृत्वको कार्यदललाई दिएको थियो । उक्त समितिले आजै बैठक बसेर लकडाउन अहिले नै अन्त्य गरिहाल्न नहुने निष्कर्ष निकालेको हो । बैठकले लकडाउन खुकुलो पर्ने परिस्थिति नरहेको भन्दै एक हप्ता अझै लकडाउन बढाउन मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

लकडाउन खुकुलो नगर्ने क्रममै आन्तरिक तथा बाह्य उडान प्रतिवन्धको समय बढाएर जेठ २ गतेसम्म लम्ब्याएको छ भने लकडाउन कहा लागू गर्ने कहाँ नगर्ने ? कुराको अध्ययन गर्ने जिम्मा मुख्यसचिव संयोजक रहेको कार्यदललाई दिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिएका छन् । आन्तरिक उडान प्रतिवन्धको समय यसअघि बैशाख १८ गतेसम्मलाई तोकिएको थियो ।

विशेषगरी भारतमा लकडाउन कायम रहेको र त्यहाँ कोरोना संक्रमितहरु बढ्ने क्रम जारी रहेकाले नेपालमा लकडाउन खुकुलो गर्ने आँट सरकारले नगरेको हो । उच्चस्तरीय समितिले देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको र अन्य धेरै ठाउँमा परीक्षण बाँकी रहेको औंल्याउँदै खतरामुक्त नभई लकडाउन खुकुलो पार्न नसकिने तर्क गरेको छ । लकडाउनको अवधि यही वैशाख १५ सम्म कायम गरिएको छ ।

यसै विषयमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताइएको छ । उच्चस्तरीय समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदले निर्णय गर्दछ । मुख्यसचिवको नेतृत्वमा रहेको कार्यदलको सिफारिसका आधारमा अबको लकडाउनको मोडालिटी लागू गरिने जनाइएको छ ।

बैठकमा कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा लगाइएको लकडाउन हटाउने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको स्रोतको भनाई छ । लकडाउन लम्बिदा जनताको जीवन कष्टकर बन्दै गएको छ भने आर्थिक गतिविधि संकटमा परेको छ ।

Advertisement

Advertisement

Advertisement