राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

,   २ जेष्ठ २०७७, शुक्रबार, ०४:४४ pm   
bidhya_bhandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज ४ बजे सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

राष्ट्रपति संघीय संसद भवनमा प्रवेश गर्दा नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरिएको थियो । बैठकमा मन्त्रिगण, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारीलगायत उपस्थित छन् ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।

aecc

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ । भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गर्नुभएको छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।