कोरोना महामारीले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको नाक्सान हुने एडीबीको अनुमान

,   ३ जेष्ठ २०७७, शनिबार, ०८:३७ am   
corona_virus_covid_19

काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना विषाणुका कारण व्यापक भएको कोभिड–१९ को असरले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण एडीबी आफैँले अघिल्लो महिना गरेको प्रक्षेपणको तुलनामा दुई गुणाभन्दा पनि बढी हो ।

कोभिड–१९ महामारीको अर्थतन्त्रमा पर्ने सम्भाव्य असरको अद्यावधिक नामक प्रतिवेदन एडीबीको मुख्यालय मनिलाबाट जारी गर्दै उक्त नयाँ प्रक्षेपण गरिएको हो । प्रतिवेदनमा न्यूनतम ५८ खर्बदेखि अधिकतम ८८ खर्ब डलरको नोक्सान हुने जनाइएको छ ।

अहिले गरिएको प्रक्षेपण कोभिड–१९ को आर्थिक असर तीन महिना र छ महिना रहने अनुमान गर्दै विश्वको समग्र आर्थिक उत्पादनको बढीमा ६.५ प्रतिशतबाट ९.७ प्रतिशतसम्म हो ।

aecc

प्रतिवेदनअनुसार एसिया तथा प्रशान्त क्षेत्रले तीन महिनाको अल्पकालीन अवस्था रहे १७ खर्बदेखि २५ खर्ब डलरसम्म र चीनले ११ खर्बदेखि १६ खर्ब डलरसम्मको क्षति बेहोर्ने छ ।

एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकि सावाडाले यस प्रतिवेदनले विश्व अर्थतन्त्रमा महामारीले पार्ने असरको तस्बिर देखाएको बताएका छन् । साथै यसले अर्थतन्त्रमा यसको प्रभाव कम गर्न आवश्यक नीतिको महत्व पनि दर्शाएको उनले बताएका छन् ।

प्रतिवेदनमा आर्थिक असर कम गर्नका लागि सरकारहरूले ल्याउने सहायता उपयोगी हुने जनाएको छ । त्यससले ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म असर कम गर्नसक्ने र त्यसको रकम ४१ खर्ब देखि ५४ खर्ब रहने अनुमान एडीबीको छ ।

अहिले विश्वभर आर्थिक सङ्कट सिर्जना हुने आशङ्कामा विश्वभरका केन्द्रीय बैङ्कले आक्रामक रूपमा ब्याजदर कटौती गरिरहेका छन् । साथै अत्यधिक राहतको प्याकेज ल्याउने क्रम पनि जारी छ ।

गोरखापत्र दैनिकबाट ।