लोडसेडिङ सुरु भयो भनेर गलत प्रचार सुरु गर्नेलाई काम गरेर जवाफ दिनुहोस्ः उर्जामन्त्री

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले लोडसेडिङ सुरु भयो भनेर गलत प्रचार गर्नेलाई काम गरेर जवाफ दिन नेपाल विद्युत प्राधिकरणका वरिष्ठ अधिकारीहरुलाई निर्देशन दिएका छन् । 

पुनले बिहीबार प्राधिकरणका उपकार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएको बताउँदै त्यस्ता नियोजित गुनासालाई निस्तेज पार्नेगरी काम गरेर देखाउन निर्देशन दिएका हुन् । 

Advertisement

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ समर्थकहरुबाट लोडसेडिङ सुरु भयो भनेर नियोजितरुपमा गलत प्रचार सुरु भएको पुनले औंल्याएका थिए । उनले विद्युत कटौती हुने क्रम बढेर गएको भन्ने गुनासालाई प्राधिकरणले कुशलतापूर्वक काम गरेर जवाफ दिनुपर्ने भन्दै विद्युत आपूर्तिमा सकेसम्म समस्या आउन नदिन सल्लाह दिए । 

बैठकमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाको नेतृत्वमा वरिष्ठ कर्मचारीहरु पुगेका थिए । बैठकमा मन्त्री पुनले कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न पनि निर्देशन दिएका थिए । 

उनले उपभोक्ताका जायज गुनासाहरु आउँदा नकारात्मकरुमपा नदिन सल्लाह दिँदै नियमित विद्युत पाउनु जनताको अधिकार भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए । बैठकमा सहभागी एक अधिकारीका अनुसार प्राधिकरण कार्यकारी निर्देशक नियुक्तिलाई उठाउँदै केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणविरुद्ध नियोजितरुपमा प्रश्न उठाइरहेको मन्त्री पुनले खुलासा गरेका थिए । 

मन्त्री पुनको भनाई थियो, ‘सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्जा, जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

बैठकमा उर्जासचिव दिनेश घिमिरेसहित उर्जा मन्त्रालयका अधिकारीहरु पनि थिए । 

Advertisement

Advertisement