कृषिमन्त्री भन्छन्ः कृषि क्षेत्र सुधार गर्ने हो ? त्यसो भए दबाब चाहियो

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि व्यवस्था नै परिवर्तन नभएसम्म कृषिको विकास नहुने अनुभव सुनाएका छन् । 

विश्व खाद्य दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कृषि व्यवस्थामा नै परिवर्तन नभएसम्म कृषि क्षेत्र र किसानको विकास हुननसक्ने बताउँदै त्यसका लागि दबाब जरुरी रहेको बताए । 

Advertisement

अहिलेसम्म कृषि व्यवस्थाको कम आलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको भुसालको तर्क छ । उनले कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै यस क्षेत्रमा सुधार ल्याउन सकिने बताए । 

कृषिमा परिवर्तन गर्नका लागि व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इन्पुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको बताउँदै मन्त्री भुसालले कृषि क्षेत्रमा आफूले साचेअनुसार काम गर्न नसकेको स्वीकार गरे । 

रासायनिक मल छिटो ल्याउन आफूले गरेको प्रयास सफल हुन नसकेको अनुभव सुनाउँदै उनले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको तर्क गरे । मल आयात गर्ने सिस्टम नै ढिलो र झन्झटिलो रहेको उनको भनाई छ । 

मन्त्री भुसालले कोलकाताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने बताउँदै भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको पाँच लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रह्माजी आए भने पनि सक्दैनन् ।’

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने कुरालाई भने भुसालले आफ्नो उपलब्धीको रुपमा व्याख्या गरे । उनले त्योभन्दा बाहेक आफूले केही गर्न नसकेको स्वीकार गरे । 

Advertisement

Advertisement