नाफा सबै ठिकठाक छ, हकप्रद सेयर चाँडै आउँछः एचआइडीसीएलका सीईओ  पोखरेल

Advertisement

छविराज पोखरेल
नेपालमा जलविद्युतको विकासका लागि सरकार र नागरिक मिलेर लगानी गर्ने उदेश्यसहित फरक प्रकृतिको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको स्थापना भएको हो । यो कम्पनीले आफ्नो स्थापना कालदेखि नै जलविद्युतको विकासमा लगानी गर्दै आईरहेको छ । सरकार, संस्थागत लगानीकर्ता र सर्वसाधारणको समेत सेयर स्वामित्व रहेको कम्पनीले लगानीकर्ताहरुलाई उचित प्रतिफल  पनि दिँदै आएको छ ।  कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो । १६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको फरक प्रकृतिको कम्पनीले त्यति नाफा आर्जन गर्नु राम्रै हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कोरोना महामारीको अवस्थामा पनि यति नाफा कमाउनु ठूलै कुरा हो । यद्यपी यस्तो नाफा गत आवको पहिलो त्रैमासिकमा २७ करोड ७६ लाख रुपैयाँ थियो । हामीले पहिलो त्रैमासिकमा जति अपेक्षा गरेका थियौं, त्यति नै नाफा गर्न सफल भएका छौं । अझ यो भन्दा पनि कम नाफा आउला भन्ने थियो । धन्न २२ करोड २२ लाख भए पनि कमाउन सफल भईयो । 

कोरोनाका कारण आर्थिक वृद्धिदर २ प्रतिशत मात्रै हुने देखिएको छ । होटल व्यवसाय ठप्प भएका छन् । व्यापार व्यवसाय पनि ह्वात्तै घटिरहेको छ । बैंकहरुको नाफा घटेको छ । सबै क्षेत्रको आम्दानी ६ महिना ठप्प थियो । हामी पनि ६ महिनादेखि फिल्डमा जान सकिरहेका छैनौं । कर्मचारी कोरोना लागेर ढलिरहेका छन् । यस्तो बेलामा पनि हामीले २२ करोड २२ लाख आम्दानी गर्नु भनेको चानचुने कुरा होइन् ।  अझै एक त्रैमासिकसम्म हाम्रो आम्दानीमा कोरोनाले प्रभाव पार्न सक्छ । किन की प्रोजेक्टहरुमा खासै काम हुन सकिरहेको छैन् । हामीले ठूलो रकम बैंक तथा वित्तिय संस्थामा मुद्धति निक्षेपमा राख्ने गरेका थियौं । अहिले बैंकहरुको ब्याजदर पनि घटेको छ । ब्याजदर १२ प्रतिशतबाट घटेर ६ प्रतिशतमा झरेको छ । त्यसकारण पनि हाम्रो नाफा कम देखिएको हो । 

लगानी  कति ? 
कम्पनीले अहिलेसम्म २२ अर्ब लगानी गरिसकेको छ । उर्जा कम्पनीको लगानी एकै पटक हुन्न । एउटा प्रोजेक्ट सम्पन्न हुन कम्तिमा पनि पाँच वर्ष लाग्छ । त्यस्तो प्रोजेक्टमा एक अर्ब लगानी गर्ने भनिएको छ भने त्यो लगानी पाँच वर्षभित्र गरिसक्ने हो । अहिलेसम्म २२ वटा प्रोजेक्टमा लगानी गरिसकेका छौं । १६ अर्ब ५० करोड रुपैयाँ पैसा उठेको छ । लगानी २२ अर्ब गरिसकेका छौं । कहाँ लगानी गर्ने भन्ने चिन्ता छैन् । तर उर्जा कम्पनीमा गरिएको लगानी भनेको खानेपानीमा जस्तो हुँदैन् । प्रतिफल पाउन समय कुर्नु पर्छ । 

लगानीबाट धमाधम प्रतिफल
कम्पनीले लगानी गरेका परियोजनाहरुमध्ये ३ वटा कम्पनीले प्रतिफल दिन थालिसकेका छन् । यसै पाली थप ४ वटा कम्पनीबाट प्रतिफल आउँछ । बागमति, लोअर हेवा, अन्तरदेशिय ट्रान्समिसन लाइन मुजफ्फपुर ढल्केबरबाट प्रतिफल आउन थालिसकेको छ । 

बैंकमा पैसा राखेको आरोप
बैंकमा पैसा राखेर ब्याज आम्दानी खाएर बसेको आरोपमा कुनै दम छैन् । हामीले परियोजनाहरुमा काम गरे अनुसारको भुक्तानी दिने हो । सुरुमै सबै पैसा दिने होइन, काम नभएर खर्च नभएको रकम बैंकमा राखेर ब्याज खाने हो । औषतमा पाँच वर्षमा परियोजना सम्पन्न हुन्छन् । हामीले गर्ने भनेको लगानी पाँच वर्षमा उपलब्ध गराउने हो । सुरुमा जति काम हुन्छ, सोही आधारमा भुक्तानी दिँदै जाने हो । बाँकी रहेको पैसा बैंकमा राख्ने हो । 

रणनीतिक साँझेदार ल्याउने कुरा
कम्पनीले रणनीतिक साँझेदारका रुपमा विदेशी कम्पनीहरुलाई भित्र्याउने काम पनि गरिरहेका छौं । पावर चाईना कम्पनीसँग संयुक्त लगानीमा प्रोजेक्ट थालिसकेका छौं । भारत सरकारको स्वामित्व रहेको एनएचपीसी कम्पनीसँग पनि संयुक्त लगानीमा आयोजना बनाउँदैछौं । कोरियन र जापानिज कम्पनीसँग पनि संयुक्त लगानीमा आयोजना बनाउनेबारे छलफल भैरहेको छ । विदेशी साँझेदारहरुसँग मिलेर ठूला आयोजना विकास गर्ने हो । 

हकप्रद सेयर कहिले ?
कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय भैसकेको छ । सरकारले आफ्नो तर्फको पैसा हालिसकेको छ । अब संस्थागत लगानीकर्ताका रुपमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो भागको पैसा हाल्दैछन् । उनीहरुले सञ्चालक समितिबाट निर्णय गराएर पैसा हाल्नेछन् । पहिले सरकार र संस्थागत लगानीकर्ताले आफ्नो भागको पैसा हालेपछि मात्रै सर्वसाधारणमा जाने हो । सर्वसाधारणको दुई अर्बको सेयर छ, त्यसमा थप २ अर्बकै हकप्रद सेयर आउँछ । (हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलसँग गरिएको कुराकानीमा आधारित) 


 

Advertisement

Advertisement

Advertisement