बोनस दर निर्धारणमा नेशनल लाइफ सबल, भन्छ– समितिमा बढेकै दर पठाउन सफल भयौं

Advertisement

काठमाडौं । फ्युचर बोनस प्रोभिजनले पूराना बीमा कम्पनीको बोनस दरमा प्रभाव पारिरहेको बेला नेशनल लाइफ इस्योरेन्स कम्पनीले भने आफ्नो सबलता कायम राखेको छ । कम्पनीले विगतकोभन्दा आफ्नो बोनस दर नघट्ने स्पष्ट पारेको छ । 

नेशनल लाइफले आफ्नो फ्युचर बोनस प्रभिजन गरिसकेको छ । साथै, आफ्नो नयाँ बोनस दर तय गरेर बीमा समितिमा पनि स्वीकृतिका लागि पठाएको छ । समितिको एक्चुरीले गर्ने मूल्यांकनमा नेशनल लाइफको बोनस दरमा केही हेरफेर हुने ठाउँ भने अझै बाँकी नै छ । तर, कम्पनीले आफ्नो एक्चुरीले तयार गरेको बीमांकीय मूल्यांकनमा भने बोनस दर विगतकोभन्दा बढेको छ ।

Advertisement

कुनै पनि बीमा कम्पनीले सुरूमा आफ्नो एक्चुरीमार्फत आफ्नो आन्तरिक मूल्यांकन गर्छ । कम्पनीले गरेको उक्त मूल्यांकनलाई बीमा समितिले पुनः आफ्नो एक्चुरीमार्फत चेकजाँच गर्नुपर्ने कानुनी व्यवस्था छ । फ्युचर बोनस प्रोभिजनमा बीमा कम्पनीको दायित्व धेरै छ भने सकेसम्म कम बोनस दर तोक्नु राम्रो मानिन्छ । तर नेशनल लाइफले भने आफूहरू त्यसको अपवाद रहेको जनाएको छ । आफ्नो खर्चभन्दा पनि आम्दानी नै धेरै रहेकाले बोनस दरले भविष्यमा ठूलो जोखिम ननिम्त्याउने कम्पनीको तर्क छ ।

विगतमा जीवन बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एलआईसी नेपालले बोनस दरमा चर्को प्रतिस्पर्धा गर्ने गर्थे । त्यस्तै, मेटलाइफ पनि बोनस दरको आधारमा अगाडि नै हुन्थ्यो । तर, अहिले यी कम्पनीहरूलाई नेशनल लाइफले उछिन्ने करिब निश्चित भएको छ । 

नेशनल लाइफले फ्युचर बोनस प्रोभिजन गरिसकेको छ । उक्त प्रोभिजन गर्दा बीमा कम्पनीले भविष्यका लागि आफ्नो रिजर्भ फण्डमा पैसा जम्मा गर्नुपर्छ । सोही रकम जम्मा गर्दा त्यसको असर बीमा कम्पनीको बोनसमा पर्न जान्छ । जसको कारण कम्पनीको नाफा ह्वात्तै घट्छ । यदी रिजर्भमा पैसा नराखी बोनस बढाउन जीवन बीमा कम्पनी लागेमा भोलि दिनमा कम्पनी आर्थिक संकटमा पर्ने जोखिम त्यत्तिकै हुन्छ । 

तर, नेशनल लाइफले भने आफूहरू भने सो खतराबाट मुक्त भएको जनाएको छ । कम्पनीले हाल इण्डोमेन्ट पोलिसिमा ३० प्रतिशत र एन्टिसिपेटेडमा ४० प्रतिशत बोनस प्रोभिजन गरिसकेको छ । तर कम्पनीले उक्त प्रोभिजनले आफ्नो बोनस दरमा ठूलो फेरबदल आशंका गरे पनि अहिले त्यो स्थिति नआएको जनाएको छ ।  

यस्तो छ नेशनल लाइफको बोनस दर
कम्पनीले आर्थिक वर्ष २०७५–७६ को सावधिक जीवन बीमामा ६४ देखि ८५ सम्म रूपियाँसम्मको बोनस दिइरहेको छ । कम्पनीले दुई लाख ११ हजार वटा उक्त बीमालेख बिक्री गरिसकेको छ ।  

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा कम्पनीले ६३ देखि ६४ रूपियाँको बोनस दर दिइरहेको छ । कम्पनीले ४१ हजार तीन सय वटा सो बीमालेख बिक्री गरिसकेको छ । 

साथै, कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रूपियाँ बोनस दिइरहेको छ भने ९८ हजार वटा सो बीमालेख बिक्री गरिसकेको छ । 

नेपाली बीमा बजारमा नेशनल लाइफ सञ्चालनमा आएको ३३ वर्ष पूरा भइसकेको छ । जीवन बीमा कम्पनीहरूले १५ वर्षलाई आफ्नो एक साईकल पूरा भएको मान्छन् भने नेशनल लाइफ इन्स्योरेन्सले हालसम्म दुई वटा साईकल पूरा गरिसकेको उसको दाबी छ ।

बोनस खस्केको इतिहास पनि भुल्नु हुँदैन
विगतमा नेशनल लाइफको बोनस दर ६५ रूपियाँ थियो । त्यतिबेला कम्पनीले पहिलो, दोस्रोकै लागि प्रतिस्पर्धा गरेको र बिस्तारै सो रकम खस्किँदै ६० रूपियाँसम्म कायम हुन पुगेको थियो । उक्त समयमा बीमा कम्पनीको बीमांकीय मूल्यांकन तीन वर्ष हुने व्यवस्था थियो । तर अहिले सो मूल्यांकन प्रत्येक आर्थिक वर्षमा गर्नुपर्छ । 

नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले हालसम्म बोनस दर सकारात्मक देखिएको र अब बाँकी बीमा समितिको प्रतिक्रियामा निर्भर हुने बताए । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एउटा सीईओले आफ्नो कार्यकालमा दिइरहेको बोनस दर अर्को सीईओ आउने बित्तिकै ठूलो मात्रामा घटबढ हुने समस्याका कारण फ्युचर बोनस प्रोभिजनको व्यवस्था लागू गरिएको हो ।

उनले कर्पोरेट नेपालसँग भने, ‘अहिले एउटा सीईओको कार्यकालमा धेरै बोनस हुन्छ । फेरि अर्को सीईओ आउने बित्तिकै बोसन ह्वात्तै घट्छ । वास्तवमा त्यस्तो हुनुहुँदैन ।’ 

पौडेलले प्रोभिजन गरेर रिजर्भमा राखेको रकम बीमा कम्पनी र बीमित दुवैको लागि लाभदायी हुने बताए । बोनस दर तोक्ने जिम्मा एक्चुरी रहेको र एक्चुरीले निर्धारण गरेअनुसार सो दर तोकिन्छ । फ्युचर बोनस दर तोकिसकेपछि बीमा कम्पनीले आगामी वर्ष सो दरभन्दा तल जान नहुने पौडेलको भनाई छ ।

आफूहरूले बीमितका हितका लागि अधिकतम् दरमा नभई न्यूनतम् दरमा कडाई गरेको र त्यसमा बीमा कम्पनीले हेलचक्राईं गर्न नहुने समिति बताउँछ । समितिले अन्य कम्पनीको बोनस दर घट्ने पक्का भइरहेको बेला नेशनल लाइफ भने बलियो देखिएको स्वीकार गरेको छ ।

Advertisement

Advertisement