आईसीसी महिला टी–२० विश्वकपः हङकङसँग नेपाल पराजित

Advertisement

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

टस हारेर ३ विकेटको क्षतिमा १०४ रनको मध्यम स्कोर मात्र बनाउन सकेको नेपाललाई सहजरुपमा हङकङ पराजित गरेको हो । हङकङकी मारिको हिलले ४२ बलमा ४४ रन जोडेर अविजित रहँदै टोलीलाई जिताउन मुख्य भूमिका खेलेकी थिइन् ।

Advertisement

नेपालका कविता कुँवर, सीता राई र सबनम राईले एक–एक विकेट लिए भने करुणा भण्डारीको बलमा एक खेलाडी रन आउट हुन पुगेकी थिइन् । त्यस्तै, कप्तान रुविना क्षेत्रीको १८ औँ ‍ओभरको बलिङमा ११ रन जोडदै हङकङले १०५ रन बनाउन सफल भएको थियो । 

वरियतामा नेपालभन्दा पछाडि रहेको हङकङको टोलीले १२ बल खेल्नु अगावै खेल जितेको हो। टी २० वरीयतामा नेपाल १४ औँ तथा हङकङ २५ औँ स्थानमा छ ।

नेपालले सीता राना मगरको अविजित ४० रनको मद्दतमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। उनले इन्दु बर्मासँग ८१ रनको साझेदारी गरेकी थिइन् । 

नेपालका प्रारम्भिक खेलाडी कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै आउट भएकी थिइन्। त्यसपछि काजल श्रेष्ठले २३ बल खेलेर ४ रन मात्र बनाउन सकिन्। 

यो हारसँगै नेपालको विश्वकप यात्राका आगामी खेलहरू चुनौतीपूर्ण बनेको छ । एसिया क्षेत्रमा सहभागी छ टोलीमध्ये शीर्ष टोली मात्रै विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्न पाउने भएकाले नेपालको संभावना न्यून भएको छ । छ टिममा नेपालबाहेक भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई छन्।

Advertisement

Advertisement