कुनै अवरोध नभए इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर हुन्छः पाण्डे

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले कुनै अवरोध नभए मेगा बैंकसँग मर्जर हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मेगासँग मर्जरको कुराकानी अघि बढेको बताउँदै दुवै पक्षमा हिमालयन बैंकसँग जस्तो असहज अवस्था नआउने अपेक्षा आफूहरुको रहेको बताए । 

पाण्डेले भने, ‘दुवै पक्षबीच घनिभूत छलफल भइरहेको छ । डीडीए गर्नुपर्यो । सबै कुराहरु मिल्नुपर्यो । मिलाउनु पर्यो । समय लाग्छ । हिमालयन बैंकसँग जस्तो कुनै अवरोध नभए मेगा बैंकसँग मर्जर हुने संभावना छ । जेहोस कंक्रिट कुराहरु भइरहेको छ ।’

Advertisement

इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग मर्जर गर्न निकै प्रक्रिया अघि बढेपछि हिमालयन बैंकका केही सञ्चालक र प्रवर्द्धकहरु मिलेर मर्जर असफल  बनाउने काम गरेका थिए । एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, नविल बैंक ठूलो बैंकको रुपमा स्थापित भएसँगै नेपालको पूरानो र सबल बैंकको रुपमा रहँदै आएको इन्भेष्टमेन्टलाई पनि मर्जरमा जान दबाब बढ्दै गएको थियो । 

हिमालयन बैंकसँगको मर्जर असफल भएसँगै इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि विभिन्न बैंकसँग कुराकानी गर्दै आएकोमा एक महिनादेखि मेगा बैंक र इन्भेष्टमेन्टका सञ्चालकहरुबीच छलफल अघि बढेको थियो । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेले आफू शुक्रबार केही दिनका लागि देश बाहिर जान लागेको र आफू नभए पनि छलफल जारी रहने बताउँदै फर्किएपछि आफू पनि सहभागी हुने बताए । 

उनले भने, ‘मर्जर गर्नैपर्ने बाध्यता हामीहरुलाई छ । नगरी उपाय छैन् । हुनपर्छ भनेर पनि हाम्रो हातमा हुँदो रहेन्छ । भोलि साधारणसभाले कसरी हेर्छ । हिमालयनसँगको प्रक्रिया सफल भएन् । प्रक्रिया कहिले पूरा हुन्छ ? त्यो पनि अहिले ठ्याक्कै भन्नसक्ने अवस्था छैन् । जेहोस प्रक्रिया सुरु भएको छ ।’

प्रारम्भिक छलफलमा दुवै बैंकको अस्तित्व रहने गरी १००ः९० अनुपातमा मर्जरमा जान सकिनेबारेमा कुराकानी भइरहेको छ । नयाँ बैंकको नाम मेगा इन्भेष्टमेन्ट बैंक वा इन्भेष्टमेन्ट मेगा बैंक राख्न सकिने कतिपय सञ्चालकको सुझाव छ । नयाँ बन्ने बैंकको अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे नै रहने, मेगा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतमा रविना श्रेष्ठ रहने विषयमा छलफल भएको छ । 

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर भएमा नयाँ बैंक चार वटा बैंकमध्येको एक हुनेछ । मर्जरपछि बन्ने बैंकको पुँजी झण्डै ३३ अर्ब हाराहारीमा हुनेछ । इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको मुनाफा पनि वितरण गर्न बाँकी छ । 

Advertisement

Advertisement