​नागरिक लगानी कोषको ७० अर्ब राष्ट्रिय विकास परियोजनामा परिचालन गर्नुपर्ने अर्थमन्त्रीको जोड

Advertisement

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले सेयर बजारमा स्थिरता ल्याउन नागरिक लगानी कोषले भुमिका खेल्नुपर्ने बताएका छन । 

कोषको बुधबार पोखरा शाखा कार्यालय उदघाटनमा महतले कोषले बजार निर्माताको काम गरी पुँजी बजारमा स्थायित्व ल्याउनुपर्ने बताए । उनले सेयर बजारमा हुने अत्याधिक उत्तार चढावलाई रोक्न तत्कालै कोषले बजार निर्माताको काम गर्ने अपेक्षा पनि गरे । 

सरकारले बजेटमै बजार निर्माताको काम गर्ने जिम्मेवारी कोषलाई दिएको थियो । मन्त्री महतले कोषमा जम्मा भएको करिव ७० अर्ब रकम राष्ट्रिय विकासका परियोजनामा परिचालन गर्न सके आर्थिक वृद्विमा थप सहयोग पुग्ने बताए । 

उनले बचत रकमको सदुपयोग गर्नुपर्ने कुरामा पनि जोड दिए । मन्त्री महतले बन्द र हडताल सदाको लागि अन्त्य गर्नुपर्ने भन्दै अहिलेको बन्द डर र त्रासको कारण सर्वसाधारणले बाध्य भएर गनुपरेको बताए । 

अब सदाको लागि बन्द हडताल अन्त्य गर्न सबै दल र तिनका भातृ संगठनलाई आग्रह गर्दै उनले वार्ता र सम्वादबाट सबै समस्या समाधान हुने हुँदा यस तर्फ सम्वेदनशील हुन आग्रह गरे । 

सो अवसरमा उनले सिआटी एसएमएस सेवाको पनि प्रारम्भ गरे । कोषले पहिलो चोटी यो सेवा सुरु गरेको हो । कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषका सेवाग्राहीले अब मोवाइलबाट पनि सहजै कोषमा जम्मा भएको रकम हेर्न सक्छन । 

यसबाट कोषका एक लाख ६१ हजार सेवाग्राहीले सुविधा पाउने छन् । सोही अवसरमा अर्थमन्त्री डा महतले दीर्घकालिन रणनीतिक योजना २०७२÷७३ देखी २०७६÷७७ को पनि बिमोचन गरे । सो रणनीतिमा कोषको पाँच बर्षे खाका कोरिएको छ । 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले दीर्घकालिन सोच र लक्ष्यका साथ कोष अघि बढने बताए । 

Advertisement

Advertisement

Advertisement