मोदीखोला प्रतिवेदनः जलविद्युतका कारण माछाको उत्पादन र खानेपानी सुक्यो

Advertisement

काठमाडौं । पर्वतको मोदी खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजनाका कारण पारेको प्रभाव तथा वातावरणीय अवस्थाबारे तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । सोमबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सो प्रतिवेदन सार्वजनिक गरे ।

नेपाल वातावरण पत्रकार समूहले तयार पारेको सो प्रतिवेदनमा जलविद्युत् आयोजनाका कारण माछाको उत्पादन तथा खानेपानीको मूल तथा स्रोत सुकेको उल्लेख छ । अध्ययन प्रतिवेदनका अनुसार मोदी खोलामा सञ्चालित कुनै पनि जलविद्युत् आयोजनाले जलविद्युत् विकास नीति २०५८ अनुसार जलीय प्रणाली कायम गर्न न्यूनतम १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने प्रावधानको पालना नगरिएको उल्लेख छ ।

प्राकृतिक बहाव नहुँदा नदीमा माछाको उत्पादन घटेको र आयोजना पूर्वको तुलनामा करीब १० प्रतिशत मात्रै उत्पादन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय बिरेठाँटीदेखि चुवासम्म निर्माणाधीन र सञ्चालित चार जलविद्युत् आयोजनाका आधारमा निर्माण हुने आयोजनाका कारण वातावरणीय प्रभाव परेको प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रतिवेदनमा वातावरणीय क्षति न्यून गर्ने उपायका बारेमा निर्माण व्यवसायी र परामर्शदातासमेत अनभिज्ञ पाइएको, विद्युत्गृहमा मुख्य उपकरण जडान गर्नका लागि देशमा नै जनशक्ति विकास गर्नुपर्ने आवश्यकता रहेको जस्ता विषय समावेश छ । वातावरणको क्षेत्रमा काम गर्दै आएका बटुकृष्ण उप्रेती लगायतले गरेको उक्त अध्ययनले देखाएको विषयलाई कार्यान्वयन गर्न पहल गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले बताए ।

Advertisement

Advertisement