ओलीको कार्यकालः न पश्चिम सेती अघि बढ्यो न बुढीगण्डकी, न मेगा सिटी बने न स्मार्ट सिटी

Advertisement

काठमाडौं । प्रधानमन्त्री ओलीले पछिल्लो समय देशका विभिन्न ठाउँमा आयोजित सभालाई सम्बोधन गर्दा सरकारले गरेका कामको फेहरिस्त बताउने गरेका छन् । उनले आफ्नो सरकारले विकासका धेरै काम गरेको र त्यो देखेर विपक्षी अत्तालिएको दाबी पनि गरेका छन् । राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भइरहेको उनको भनाइ छ । तर, तथ्य हेर्दा त्यस्तो देखिँदैन । 

ओली नेतृत्वको सरकार गठन भएकै आर्थिक वर्षमा निर्माण थालनी गर्ने लक्ष्य राखिएको बुढीगण्डकी जलविद्युत् आयोजना अझै टुंगो छैन । पश्चिम सेती जलविद्युत् आयोजना बेवारिसे छ । सो आयोजना निर्माणको मोडालिटी नै टुंगिएको छैन । 

Advertisement

कुल एक हजार ७९२ किलोमिटर लम्बाइको हुलाकी राजमार्गमा अहिलेसम्म ५१२ किलोमिटर मात्र कालोपत्रे भएको छ । २१९ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ९५ वटा पुल मात्र सम्पन्न भएको सरकारकै मध्यावधि समीक्षामा उल्लेख छ । 

काम भइरहेकामध्ये तोकिएको समयभन्दा धेरै ढिलो भए पनि मेलम्ची खानेपानी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना भने चाँडै पूरा हुने देखिन्छन् । नीति तथाकार्यक्रमबाट सम्भाव्यताका आधारमा सहरहरूलाई मेगा सिटी र स्मार्ट सिटीमा विकास गरिने घोषणा गरियो । मेगा तथा स्मार्ट सिटी निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेका छन् । तर, हालसम्म कुनै पनि मेगा सिटी वा स्मार्ट सिटी घोषणा भएको छैन । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement