लघुवित्त विश्लेषणः पाँच लघुवित्तमध्ये कस्को प्रगति बढि उत्साहजनक ?

Advertisement

काठमाडौं । अहिले बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चलिरहेको छ ।  जसमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये पाँच कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्त कम्पनीको वित्तीय अवस्था उत्साहजनक नै देखिन्छ । गत आर्थिक वर्षको यसै अवधिमा भन्दा यस बर्ष लघुवित्तले खुद नाफा, प्रतिसेयर आम्दानीलगायत सबै सूचकहरू उकालो लागेका छन् । 

Advertisement

फष्ट माइक्रोफाइनान्स वित्तीय संस्था  
फष्ट माइक्रोफाइनान्स चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ । फष्ट यस अवधिमा नौ करोड ७८ लाख ८९ हजार रुपियाँ खुदा नाफा गरेको छ । उक्त नाफा गत वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ९४ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष यसै अवधिमा आठ करोड ६६ लाख ७१ हजार रुपियाँ मात्र नाफा कमाएको थियो । 

यस लघुवित्तले खुद ब्याज आम्दानी १३ करोड ८७ लाख रुपियाँबाट बढाएर १८ करोड ५७ लाख रुपियाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि १३ करोड ७३ लाख रुपियाँबाट बढेर १५ करोड ५३ लाख रुपियाँ पुगेको छ । गत वर्षको तुलनामा ४८ दशमलव ४९ प्रतिशतले वृद्धि गरी कर्जा लगानी आठ अर्ब २७ करोड २२ लाख रुपियाँ पुर्याएको छ । फष्ट माइक्रोफाइनान्स खराब कर्जालाई शुन्यमा सीमित गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपियाँ छ । जगेडा कोषमा २३ करोड ३५ लाख ८० हजार रुपियाँ छ । गत वर्ष यसै अवधिमा जगेडा कोषमा १९ करोड ३८ लाख ४० हजार रुपियाँ मात्र थियो । प्रतिसेयर आम्दानी १४ रुपियाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपियाँ ६४ पैसा छ ।

मिर्मिरे  लघुवित्त वित्तीय संस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मिर्मिरे लघुवित्तको नाफालगायत अन्य सूचकमा उल्लेख्य वृद्धि भएको छ । यसअवधिसम्म आइपुग्दा संस्थाको खुद नाफा ३९२ दशमलव ७२ प्रतिशतले बढेर १४ करोड ७५ लाख दुई हजार रुपियाँ पुगेको छ । अघिल्लो त्रैमासको यसै अवधिमा कम्पनीले दुई करोड ९९ लाख ३६ हजार रुपियाँ मात्रै नाफा कमाएको थियो । 

मिर्मिरेको खुद ब्याज आम्दानी १६२ दशमलव ६७ प्रतिशतले बढेर २९ करोड ३४ लाख १० हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले ११ करोड १७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ५४१ दशमलव ६० प्रतिशतले बढेर २१ करोड ८२ लाख ४३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले तीन करोड ४० लाख १५ हजार रुपियाँ मात्रै सञ्चालन नाफा कमाएको थियो । 

तेस्रो त्रैमाससम्ममा चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपियाँ र जगेडा कोषमा २५ करोड ६२ लाख ८२ हजार रुपियाँ छ । यसअवधिमा एक अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपियाँ निक्षेप संकलन गरेर छ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । 

मिर्मिरेको खराब कर्जा भने शुन्य दशमलव ३१ प्रतिशतले बढेर दुई दशमलव २६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा एक दशमलव ९५ प्रतिशत थियो । कस्ट अफ फन्ड छ दशमलव १६ प्रतिशत छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपियाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपियाँ २९ पैसा छ । 

आरम्भ चौतारी लघुवित्त
आरम्भ र चौतारी लघुवित्त एक आपसमा मर्ज भएर २०७७ असार २२ गतेबाट एकीकृत कारोबार सुरु गरेको आरम्भ चौतारी लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

यस कम्पनीले समीक्षा अवधिमा खुद नाफा १९१ दशमलव ५५ प्रतिशतले बढेर दुई करोड ८३ लाख ३६ हजार रुपियाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले दुई करोड ६८ लाख ६८ हजार रुपियाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि गरेको छ । 

आरम्भ चौतारीको खुद ब्याज आम्दानी ११९ दशमलव १७ प्रतिशतले बढेर २० करोड ३० लाख ६९ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले नौ करोड ६५ लाख ५० हजार रुपियाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा भने १८५ दशमलव ५८ प्रतिशतले बढेर १२ करोड पाँच लाख ७८ हजार रुपियाँ पुगेको देखिएको छ । अघिल्लो वर्ष संस्थाले चार करोड २२ लाख २२ हजार रुपियाँ सञ्चालन नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पुँजी ३८ करोड ६७ लाख ६३ हजार रुपियाँ र जगेडा कोषमा १९ करोड ९० लाख २० हजार रुपियाँ रहेको छ । यसअवधिमा एक अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपियाँ निक्षेप संकलन गरेर तीन अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा एक दशमलव १२ प्रतिशतले बढेर तीन दशमलव ६५ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा आरम्भ चौतारीको प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपियाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपियाँ ३१ पैसा छ । 

समता लघुवित्त कम्पनी 
समता लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म छ करोड ६० लाख रुपियाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिभन्दा ९५ दशमलव ०३ प्रतिशशत धेरै हो । गत वर्ष कम्पनीले तीन करोड ३८ लाख रुपियाँ मात्र नाफा कमाएको थियो । समताले खुद ब्याज आम्दानी ६१ दशमलव ३० प्रतिशतले बढाएर ११ करोड ६४ लाख रुपियाँ पुर्याएको छ । गत वर्ष कम्पनीले सात करोड २२ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
समताले सञ्चालन नाफा पनि पाँच करोड ३१ लाख रुपियाँबाट बढाएर १० करोड ३७ लाख रुपियाँ पुर्याएको छ । चैत मसान्तसम आइपुग्दा समताले ८२ करोड ७० लाख रुपियाँ निक्षेप संकलन गर्दा दुई अर्ब २३ करोड रुपियाँ कर्जा लगानी गरेको छ । 
 
हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ५० लाख रुपियाँ रहेको छ । कम्पनीको खराब कर्जा भने दुई दशमलव ११ प्रतिशतबाट बढेर ३ दशमलव ७५ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपियाँ ३८ पैसा रहेको समताको प्रतिसेयर नेटवर्थ भने १५८ रुपियाँ ७६ पैसा छ ।

कालिका लघुवित्त वित्तीय संस्था 
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तले खुद नाफामा आकर्षक सुधार गरी छ करोड ९७ हजार रुपियाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा खुद नाफा ४१ लाख पाँच हजार रुपियाँ मात्र थियो । कालिको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ८९ दशमलव १९ प्रतिशतले वृद्धि गरी २० करोड ९१ लाख ४४ हजार रुपियाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ११ करोड पाँच लाख ४९ हजार रुपियाँ मात्र थियो ।

कम्पनीको सञ्चालन नाफा ७२ लाख ८३ हजार रुपियाँ भएको छ । गत वर्ष कालिका ६३ लाख ५८ हजार रुपियाँ सञ्चालन नोक्सानीमा थियो । यता, खुद नाफा वृद्धि गर्न राइट ब्याकले ठूलो भूमिका खेलेको देखिन्छ । चैत मसान्तसम्म यस लघुवित्तले आठ करोड ८१ लाख नौ हजार रुपियाँ राइट ब्याक गरेको छ । कालिकाको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ ।

निक्षेप एक अर्ब पाँच करोड रुपियाँबाट बढेर एक अर्ब २० करोड रुपियाँ पुगेको छ । यस्तै, कर्जा लगानी दुई अर्ब ४२ करोडबाट बढेर दुई अर्ब ९९ करोड पुगेको छ । खराब कर्जा तीन दशमलव ०६ प्रतिशतबाट बढेर चार दशमलव ७४ प्रतिशत पुगेको छ । 

हाल यस कम्पनीको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपियाँ छ । रिजर्भ कोषमा १७ करोड ७७ लाख ८८ हजार रुपियाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी ३१ रुपियाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपियाँ ४५ पैसा छ ।

Advertisement

Advertisement