आईपीओ जारी नगर्दासम्म बीमा कम्पनीहरूलाई नियामकीय शर्त पालना गर्न गाह्रो हुन्छः सीईओ अर्याल

Advertisement

राजकुमार अर्याल, सीईओ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 

बीमा बजारको मूल्यांकन
बीमा क्षेत्र उद्योगको रुपमा स्थापित भइसकेको छ । कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान करिव तीन प्रतिशत रहेको छ । विकासशील मुलुकको तुलनामा यस क्षेत्रको योगदान थोरै देखिए पनि हाम्रो सन्दर्भमा क्रमसः बढ्दै छ । संस्थागतरुपमा बीमा सेवा प्रदायकहरूको वृद्धिसँगै बीमाको विस्तार पनि भएको देखिन्छ । यद्यपि गुणात्मकरुपमा बीमाको आवश्यकता र यसबाट हुने आर्थिक लाभको पाटोमा पहुँच वृद्धि हुन भने सकेको छैन् । विगतको तुलनामा आजको अवस्था पक्कै विस्तारित छ । 

Advertisement

नियामकको हस्तक्षेपले ल्याउने परिवर्तन
नियामनकारी कार्य नियामनको दायरामा ल्याउनै हो । नियामन प्रवन्धको अभावमा वा नीति निर्देशन वा संस्थागत सुशासन र पारदर्शीताको सन्दर्भमा लिइने निर्णय वा निर्देशनले सुशासन कायम गर्न, बीमा क्षेत्रको पारदर्शीता कायम गरी समग्ररुपमा विश्वसनीयता र स्वच्छ प्रतिस्पर्धात्मक बाताबरण कायम गर्ने हो । कसैले गर्न नहुने कार्य गरेमा दण्ड सजाय गरी सुधार गर्ने प्रक्रियामा ल्याउने हो । बीमाको व्यवस्थापन सन्दर्भमा भएका असल अभ्यास, मान्यता र सिद्धान्तको आधारमा थप व्यवस्था गर्ने कार्यबाट बीमकहरूको वित्तीय सवलता सुनिश्चिता गर्ने र बीमितको हकहित संरक्षणको प्रत्याभूतिमार्फत विश्वसनीयता अभिवृद्धि गर्ने हो । बीमा समितिबाट भएका नीति निर्देशनबाट सोही कुराको अपेक्षा गर्न सकिन्छ । 

कोभिड १९ को प्रभाव
आर्थिक क्रियाकलापअन्तर्गत अन्य सेवाहरू जस्तै जीवन बीमा क्षेत्र पनि प्रभावित छ । मुख्यगरी सामाजिक सम्वन्ध वा व्यक्ति व्यक्तिबीचमा प्रत्यक्ष सम्वन्धमार्फत प्रारम्भ हुने कारोबारमा ठूलो असर परेकै छ । मुलरुपमा सामाजिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भएकाले बमिा गर्न सकिने स्थिति अहिले छैन् । यसले नवीकरणीय बीमा शुल्कमा कमी आउने, लगानीबाट प्राप्त हुने प्रतिफलमा भएको ह्रास हुने, व्यवस्थापकीय खर्च कटौती गर्न नसकिने र बीमित हितको लागि हुने खर्चका कारण आम्दानी कटौती हुने तर दायित्व घटाउन नसकिने अवस्थामा कसरी सन्तुलन कायम गर्ने ? भन्ने कुरामा सजग हुनुपर्ने अवस्था छ । मुख्य कुरा महामारीको संकटको बेला यो क्षेत्रले कायम गरेको सेवाको निरन्तरताबाट भने आशावादी हुन सकिन्छ । 

नियामकबाट थप अपेक्षा
नियामनकारी निकाय बीमा समितिको भूमिका प्रभावकारी नै छ । समितिको सकारात्मक भूमिकाका कारण बीमा व्यवसायको विस्तार हुन सकेको कुरा सर्वबिदितै छ । बीमा व्यवसाय एवं बीमकको व्यवस्थापन र सुशासनको स्थिति सुधार गर्न, बीमितको हकहितको रक्षा गर्न, बजारमा प्रतिस्पर्धा कायम गर्न एवं बीमा मध्यस्तकर्ताहरू नियमित गर्ने सन्दर्भमा हुने प्रवन्धहरू अपेक्षाकृत नै हुन्छन् । नियामक निकायले नियमित हुने संस्थालाई थप बलियो बनाउन अद्यावधिक गर्नको लागि आवश्यक प्रवन्ध प्रवन्ध गर्दै जानुपर्छ भन्ने मेरो मान्यता छ । 

बीमा कम्पनीका समस्या र चुनौति
कोभिड १९ को कारण हुने समस्या भनिसकें । यो विषम परिस्थितिको कारण भविश्यमा कम्पनीको वित्तीय स्थितिमा असर पर्नसक्छ । सुशासनको समस्या, अस्वस्थ प्रतिस्पर्धा, आर्थिक अपारदर्शीता, व्यवसाय प्राप्तीमा हुने अत्यधिक खर्च जस्ता कुराको सम्बोधन गर्नसक्ने अवस्थामा पुग्नु नै चुनौतिको रुपमा देखिन्छ । 

कोभिड र बीमित जनसंख्या 
संख्यात्मकरुपमा भन्दा तर्कसंगत हुँदैन् । जीवन बीमा व्यवसाय वृद्धि भएको स्थिति रहेसम्म प्रत्यक्ष सम्पर्क गर्न नै नसकिएको अवस्थामा बीमा गर्नसक्ने संभावित जनसंख्यासम्म पुग्ने पहुँच पनि घट्दै जान्छ । यस्तो अवस्थामा पक्कै फरक परेको छ । यद्यपि प्रकाशित तथ्यांकहरूमा सो कुरा नदेखिन सक्छ । 

सन नेपालका बारेमा 
समग्रमा भन्नुपर्दा व्यवसायिक र प्रतिस्पर्धात्मकरुपमा सन नेपाल लाइफको अवस्था सन्तोषप्रद छ भन्न सकिन्न । यद्यपि निर्धारित लक्ष्य प्राप्ती गर्नेतर्फ विश्वस्त छौं । सम्पूर्ण सुचकांकहरू सकारात्मक र उत्साहजनक नै छन् । 

व्यवसायिकता पाँच बर्षमा 
जीवन बीमामा व्यवसाय प्राप्तिबाट उत्पन्न हुने स्थिति खुलासा हुन समय लाग्छ । कम्तिमा स्थापनाको पाँच बर्षमा स्थापनाको प्रक्रिया सकिन्छ र संस्था पूर्णरुपले व्यवसायिकतातर्फ उन्मुख हुन्छ । सार्वजनिक निष्काशनबाट पुँजी कायम नगरेसम्म नियामकीय शर्तसमेत पूरा गर्न संस्थाले सक्दैन् । यसैगरी, आज प्राप्त गरेको व्यवसायको गुणस्तर, लागतको प्रभाव, भविश्यमा थाहा हुन्छ । यस अर्थमा पनि केही बर्ष पर्खिनुपर्छ भनिएको हो । सबैको व्यवसाय सञ्चालनको आधार एउटै हो । जहाँसम्म अबको पाँच बर्षमा सन नेपाल कहाँ पुग्छ ? भन्ने प्रश्न छ पूर्ण व्यवसायिक र स्थापित हुन सफल हुन्छ भन्ने मेरो विश्वास छ । 

सन्देश
सर्वप्रथम सुरक्षित रहन, स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गर्न म सबैलाई आग्रह गर्दछु । जीवन बीमा सेवा निरन्तर चालु छ र आफ्नो अनुकुल हुने सञ्चारको कुनै पनि माध्यम प्रायोग गरी सेवा लिन सकिन्छ । तपाईंको हकहित सुरक्षण गर्न हामी बीमा कम्पनीहरू क्रियाशील छौं ।  

(कर्पोरेट नेपालका नबिन पोखरेलसँगको कुराकानीमा आधारित)

Advertisement

Advertisement