सेयर बजारका लगानीकर्ताको बजेट र मौद्रिक नीतिमा के के छन् अपेक्षा ? हेर्नुहोस्

Advertisement

काठमाडौं । सेयर लगानीकर्ताहरूले पुँजी बजार विकासका लागि आगामी बजेटमा समावेश गर्नुपर्ने विषयहरूसहितको सुझाव अर्थ मन्त्रालयमा सुरु भएको छ । राधा पोखरेल नेतृत्वको पुँजीबजार लगानीकर्ता संघले छ बुँदे सुझाव पेश गरिसकेको छ भने नेपाल इन्भेष्टर्स फोरमले बुझाउने तयारी गरिरहेको छ । 

संघले बुझाएको छ बुँदो सुझाव यस्ता छन्ः

Advertisement

१. शेयर लगानीकर्ताको वर्गीकरण गरी करको दर फरक गर्न आर्थिक वर्षको बजेटले लगानीकर्तालाई अल्पकालीन र दीर्घकालिन लगानीकर्तामा वर्गिकरण गरी दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न करको दर फरक गर्नुपर्ने । 

२ .तत्काल बैंकलाई ब्रोकर लाईसेन्स प्रदान गरिनुपर्ने । 
सातै प्रदेश र ७७ जिल्लामा बैंकहरुको सहज पहुँच  पुगेको बैंकलाई ब्रोकर लाईसेन्स प्रदान गर्दा ग्रामीण भेगका लगानीकर्ताको समेत सेयर बजारमा सजिलै पहुच पुग्ने र बढिभन्दा बढि लगानीकर्ताको लाभांवित हुनेछन्।  

यसैपनी पछिल्लो समय बजारमा लगानिकर्ताको संख्या र आकर्षण अत्याधिक बढ्दै जाँदा ब्रोकरले आफ्नो जनशक्ति र प्रबिधिको साथै सेवा सुबिधामा अलिकति पनि सुधार नगरेर पुरानै शैलीमा पशुपतिनाथ भरोसे चलाउन खोज्नुको कारण पछिल्लो समय ब्रोकरहरु लगानीकर्तालाई समयमै सेवा दिन असमर्थ रहेको तथ्य जगजाहेर नै छ ।  तसर्थ अन्य मुलुकको प्रयोगलाई पनि आत्मसाथ  गर्दै तीन बर्षदेखि कम्पनी खोलेर बसेका बैंकको सहायक  कम्पनीहरूलाई तत्काल ब्रोकर लाईसेन्स उपलब्ध गराउनु जरुरी छ। 

३. हाल कायम ५० व्यक्ति ब्रोकरलाई पनि ५० बाट दुईसय पुर्याउन अत्यावश्यक।

हाल रहेका ५० ब्रोकर काठमाडौं केन्द्रीत भएका र मोफसलमा पनि आफ्नो ईच्छा अनुसारको फाईदा हुने ठाउँमा मात्र शाखा खोल्न अग्रसर हुने हुँदा अब मोफसल बाहिरका स्थानीयलाई प्राथमिकतामा राखेर देशैभर थप १५० ब्रोकर थप हुन आवश्यक छ । सेयर कारोबार गर्दा सबैभन्दा पीडित राजधानी बाहिरका लगानीकर्ताहरू रहेका छन्, जसको आक्रोश दैनिक जसो सामाजिक सँजालहरुमा देख्न सकिन्छ । खुल्ला र स्वतन्त्र बजारमा एकात्मकताको अन्त्य हुनु जरुरी छ ।

४. अनलाइनमा कारोबार प्रणालीमा आएका समस्यालाई समाधान गर्नुपर्ने । 

कार्यान्वयनमा आएको दुई बर्ष भईसक्दा पनि दैनिक जसो नयाँ नयाँ समस्या देखिन जाने नेप्से अनलाईन कारोबार प्रणालीलाई यदी सुधार गर्न सकिदैन भने अब यसको बिकल्प खोज्न ढिला भइसकेको छ।  सिस्टममा समस्या नआएको कुनै दिन नै हुदैन । १५ लाखभन्दा बढि लगानीकर्ताको सम्पत्तिको सुरक्षामा गम्भीर चुनौति देखापर्ने गर्दछन् । तसर्थ यसको बिकल्प आवश्यक छ। 

५ .सीडीएसमा आएका समस्याहरु  समाधान गर्ने ।
सीडीएस सिस्टममा पनि धेरै समस्याहरु छन्। सजिलोसँग आईपीओ एप्लाई गर्न नसकिने, ईडीआईएसमा बारम्बार समस्या आउने, डाटाहरूमा समस्या देखिई बिश्वासनियता गुम्न लागिसकेको अवस्था भएको हुँदा  यसलाई अपग्रेट गर्न अति नै आवश्यक रहेको छ।

६. बजारलाई नीतिगत रुपमा दरिलो र लगानीकर्ताको सम्पतिको सुरक्षाको निम्ति नियामक निकायबाट बजारको बिकास र बिस्तारको लागि ठोस पहल गर्दै सुशासन कायम नगर्ने कम्पनीलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्छ ।

के भन्छन् लगानीकर्ताका नेता ? 

पुँजी बजारको आकार मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) नजिक पुगिसकेको अवस्थामा यस क्षेत्रलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बजेट र मौद्रिक नीतिमा प्राथमिकताका साथ हेर्नुपर्ने फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । 

पुँजी बजारबाट अहिले सरकारले पनि मनग्य राजश्व संकलन गरिरहेको, लामो मानिसहरूको खर्बौं रुपियाँ लगानी रहेकोले सेयर बजार संकटतर्फ जान दिन नहुने भन्दै उनले कोरोना महामारीको समयमा सबै क्षेत्र आर्थिक संकटमा पर्दा पनि पुँजी बजारले अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेको बताए । 

सरकारले मौद्रिक नीति र बजेटमार्फत पुँजी बजारमा नकारात्मक असर पर्ने खालको नीति नियम ल्याउन नहुने भन्दै रौनियारले भने, ‘प्राथमिक बजार निष्कासन तथा दोस्रो बजार कारोबारलाई हेर्ने हो भने हाल नेपालको पुँजी बजार सुदृढ अवस्थामै रहेको देखिएको छ । कोरोना महामारीले पुँजी बजारलाई पनि नयाँ कुरा सिकाएको छ । एक वर्षभित्र सेयर बजारमा धेरै परिवर्तन भएका छन् । गत वर्षसम्म अनलाईन कारबारमा सुस्त रहेको सेयर बजार अहिले पूर्णरुपमा अनलाईन कारोबार गर्न मिल्ने अवस्थामा आएको छ । तर पनि बजारमा सुधार हुन धेरै कुरा बाँकी छन् । पूर्ण सन्तोष हुने अवस्था भने छैन ।’

बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणबापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समेटको छ । यो कुरालाई पनि सुधार गर्नुपर्ने सुझाव राष्ट्र बैंकसामु पठाउने तयारी गरिरहेको रौनियार बताउँछन् । 

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले पनि आगामी बजेट तथा मौद्रिक नीतिको लागि आफ्नो संगठनबाट सुझावहरू पठाईसकेको बताईन । उनी भन्छिन, ‘लगानीकर्ताहरूको सबैको चाहना एउटै हुन्छ बजारमा सेयर कारोबार गर्न सहज होस । लगानीकर्ताले आफ्नो पुँजी जोखिममा पनि राख्न चाहादैनन् । यसैले सरकारले सबैलाई उपउक्त हुने खालको बजेट ल्याउन आवश्यक छ ।’ 

कोरोना महामारीको समयमा पनि पुँजी बजारले उचाई लिँदै गएको छ । कोरोना महामारीको कारण अन्य क्षेत्रमा लगानी गर्ने बाताबरण नहुँदासेयर बजारमा लगानी थपिने क्रम बढ्दो छ । बजारमा ३६ लाखभन्दा धेरै डिम्याट प्रयोगकर्ता पुगिसकेका छन् । यता छ लाखभन्दा धेरै लगानीकर्ताले अनलाईनको माध्यमबाट दैनिक सेयर कारोबार गरिरहेका छन् । 

राष्ट्र बैंकको नीतिअनुसार सेयर बजारको लागि कर्जाको सीमा चार खर्र्बसम्म तोकेको छ । अहिलेसम्म सेयर बजारमा कर्जा प्रवाह भएको ९९ अर्ब रुपियाँ मात्र छ । यसकारण सेयर कर्जामा समस्या नरहेको र कोरोना महामारीमा पनि सरकारसँगै बैंकले पनि नाफा कमाईरहेको रौनियार बताउँछन् । 

पुँजी बजार देशको अर्थतन्त्र नियाल्ने ऐनाको रुपमा लिने गरिन्छ । कोरोना महामारीको समयमा अन्य क्षेत्र आर्थिक संकटमा जाँदा पुँजी बजारले देशको अर्थतन्त्र चलाएमान बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

गएको बुधबार मात्र सेयर बजारमा अहिलेसम्म कै उच्च कारोबार पनि भएको थियो  । लगानीकर्ताका अगुवाहरूले यो बढ्दै गएको २०७८ भित्रै २० कलाख रुपियाँसम्मको कारोबार हुने अनुमान गरेका छन् । हाल पुँजी कोषको आकार ३८ खर्ब रुपियाँ बराबरको छ । यो वर्षको अन्यसम्ममा यो कोष बढेर ४५ खर्ब रुपियाँसम्म पुग्नसक्ने अनुमान छ ।

Advertisement

Advertisement