नीतिगत स्थिरता भयो भने नेपालमै गाडिहरू उत्पादनको ढोका खुल्छः करण चौधरी

Advertisement

नेपालका अटोमोवाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालमा नयाँ नेतृत्वका लागि आउँदो भदौ २५ गते चुनाव हुँदैछ । कोरोना महामारीको मारमा रहेका अटो व्यवसायीहरू अहिलेको परिस्थितिमा संघको नेतृत्व निर्वाचनबाट भन्दा पनि सर्वसम्मत चयन होस् भन्नेमा धेरै देखिन्छन् । आगामी नेतृत्वका एक दावेदार तथा नाडाका वर्तमान उपाध्यक्ष करण चौधरीसँग कर्पोरेट नेपालले कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको सारः 

नाडा अटोमोवाइल एशोसियशनको नयाँ नेतृत्वका लागि तपाईंले उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्ष हुनुभयो भने तपाईंको कामको प्राथमिकता के के हुन्छ ? 
स्वाभाविकरुपमा सबै सरोकारवाला पक्षसँग सम्वन्ध कायम राखेर अघि बढ्ने छु । नीति निर्माताहरूसँग निकटको सम्वन्ध बनाएर मुलुकमा सबै अटोमोवाइल व्यवसायीका लागि व्यवसायमैत्री वातावरण निर्माणका लागि काम गर्नेछु । नाडाले आफ्नो पहुँचलाई प्रदेश तहमा विस्तार गर्नेछ । स्थानीय तहका सरोकारवालासँग निकटको सम्वन्ध बनाएर स्थानीय अटो व्यवसायीका लागि काम गर्ने सहज वातावरण बनाउन प्रहल गर्नेछु । 

Advertisement

तपाईंले त्यासो भन्दैगर्दा कोरोना महामारीको पीडामा रहेका धेरै अटोमोवाइल व्यवसायी आशा र अपेक्षा नाडाको नेतृत्वमाथि हुन्छ । उनीहरूको अपेक्षा र समस्यालाई तपाईं अध्यक्ष हुनुभयो भने कसरी सम्बोधन गर्नुहुन्छ ?
अहिले कोरोना महामारीको अवस्था कायम छ । अटो क्षेत्रमा काम गर्ने हजारौं यसबाट प्रभावित भएका छन् । ज्यान गुमाउनु परेको छ । लामो समय लकडाउन र निषेधाज्ञाका कारण उनीहरूले काम गर्न नपाएको अवस्था छ । चाहे डिलर सञ्चालन गर्ने साथी हुन वा अटोमोवाइल क्षेत्रमा काम गर्ने सामान्य श्रमिक । मेरो पहिलो प्राथमिकता अटो क्षेत्रलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाउन हुनेछ । हामीले अहिले नै त्यसका लागि पहल गरिरहेका छौं । सम्वद्ध मन्त्री र सचिवहरूलाई भेटेर अटोमोवाइल तथा यातायात सेवामा काम गर्ने लाखौं श्रमिक तथा व्यवसायीका समस्या राखेका छौं । उनीहरूले भोग्नुपरेका समस्या, राहत र पुनरुत्थानका कुरा उठाएका छौं । खोप लगाउन प्राथमिकता दिन आग्रह गरेका छौं । यो क्षेत्र कोरोनाले सबैभन्दा धेरै प्रभावित भएको मध्ये एक क्षेत्र हो । यस क्षेत्रलाई नयाँ उत्साह र आकर्षणको जरुरी छ । भोलिका दिन सरकारी पक्षसँग अटोमोवाइल क्षेत्रमा काम गर्ने वातावरणका लागि मेरो ध्यान जानेछ । 

तपाईं अहिले नै पनि नाडाको उपाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । अहिलेको कार्यकालमा के के गर्नुभयो ? भनेर नाडाको सदस्यहरूले प्रश्न गरे भने के जवाफ दिनुहुन्छ ?
म र नाडाको वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल हामी दुवै भेहिकल कमिटिमा बसेर एकसाथ मुलुकमा अटोमोवाइल व्यवसायका लागि कसरी वातावरण बनाउन सकिन्छ ? कसरी यस क्षेत्रका समस्या समाधान गर्न सकिन्छ भनेर काम गरिरहेका छौं । हामीले के के गर्यौं ? नाडाका साथीहरूले पनि हेरिरहनुभएको छ । मिडियाहरूले पनि लेखिरहेको हुन्छ । नाडा साथीहरू कसैले प्रश्न गर्नुभयो भने म उत्तर दिन सक्छु । 

तपाईंको पक्षमा सर्वसम्मती हुने संभावना कस्तो देख्नुहुन्छ ? त्यसका लागि पहल भएको छ कि छैन् ? 
त्यसका लागि पहिला मैले सबैको विश्वास जित्न जरुरी छ । त्यसका लागि म काम गर्नेछु । 

चुनाव हुने अवस्थामा प्यानलसहित प्रस्तुत हुनुहुन्छ कि ? 
हो । पक्कै पनि त्यो बेलामा हामी प्यानलसहित प्रस्तुत हुनेछौं । टिममा नै काम गर्नुपर्छ भन्ने मेरो विश्वास पनि छ । तर म अहिले कुनै टिममा छैन् । 

नाडाको सबैभन्दा कान्छो उमेरको अध्यक्ष भएर इतिहास रच्ने इच्छा गर्नुभएको छ । चुनाव जित्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
मैले भनेजस्तै म मेरो क्षमता देखाउन सक्छु । यो विश्वास मसँग छ । म नाडा अटोमोवाइल एशोसियशनको अध्यक्ष नहुने कुनै कारण देख्दिन् । 

चालु आर्थिक बर्षको लागि प्रस्तुत बजेटप्रति तपाईंहरूको सकारात्मक प्रतिक्रिया नै थियो । तर नयाँ सरकारले यसलाई केही संशोधनको तयारी गरिएको छ । मौद्रिक नीति पनि आउन ढिलाई भइरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ? संशोधित बजेट र मौद्रिक नीति कस्तो चाहिन्छ ?
म बजेट र मौद्रिक नीतिको ठूलो आलोचक छैन् । म अगाडि बढ्न उत्साहजनक वातावरण बनाउनुपर्छ भन्ने कुरामा विश्वास गर्छु । त्यो बनाउने काम भनेको सरकारको हो । मेरो मात्रै अनुरोध के छ भने बजेट वा संशोधित बजेट र मौद्रिक नीतिले अटो क्षेत्रलाई सकारात्मकरुपमा हेरोस् । देशमा काम गरेर खाने वातावरण बनोस् । आर्थिक गतिविधि बढोस् । सँगसँगै कोरोना महामारीबाट पनि जनताको जीवनरक्षा होस् । 

नेपालका अटोमोवाइल व्यवसायी नेपालमै गाडि तथा यसका पार्टपुर्जा उत्पादन गर्न भन्दा पनि आयात गरेर बेच्नमै बढि रमाए भन्ने आरोप लाग्ने गरेको छ । अहिलेसम्म दुई वटाले मात्रै एसेम्ब्लिङ सुरु गरेका छन् । नेपालमा उत्पादन गर्न नीतिगत समस्या मात्रै हो वा पुँजीको हो वा बजारको चुनौति हो ?
नेपालमै गाडि उत्पादन हुनुपर्छ भन्ने कुरामा सरकार जस्तै हामी पनि चिन्तित छौं । एसेम्ब्लिङ प्लान्ट सञ्चालन गर्न संभव पनि भएको छ । तर मुख्य समस्या नीतिगत अस्थिरता र अनिश्चितता मुख्य चुनौति बन्दै आएको छ । त्यो खालको नीतिगत स्थिरताको सुनिश्चितताले लगानीको ढोका खोल्छ । नेपालको अटोमोवाइल इन्डष्ट्रिजमा ठूलठूलो लगानी आउँछ । किन भने नेपाल दुई ठूला अर्थतन्त्रको बीचमा रहेको मुलुक हो । नेपालमा हुने उत्पादनले आन्तरिक बजारसँगै छिमेक र अन्य दक्षिण एसिया क्षेत्रमै राम्रो बजार पाउँछन् । 

तपाईंले सञ्चालन गरिरहेको सिजी होल्डिङले पनि एसेम्लिङ प्लान्ट राख्ने कुरा सुनिन्छ । के कसरी राख्दै हुनुहुन्छ ?
सही कुरा हो । हामीले त्यसका लागि यसअघि नै विस्तृत रोडम्याप नै बनाएका छौं । मुल्य कुरा त्यही हो नीतिगत स्थिरताको सुनिश्चितता । 

सरकारले न्यू इनर्जी भेहिकललाई प्रवद्र्धन गर्ने भनेको छ । अझै पनि सडकमा पूरानै गाडिको बाहुल्यता छ । अबको १० बर्षमा यसलाई विस्तावित गर्नसक्ने स्थिति छ ? 
विद्युतीय सवारी साधनमा सरकारले चालेको कदम प्रसंशनीय नै छ । तर विद्युतीय सवारी साधनको व्यापार, यसलाई आगामी दिनमा कसरी नीतिगतरुपमा अघि बढाइन्छ र कस्तो पूर्वाधार तयार गन्छि ? भन्ने कुरामा निर्भर हुन्छ । समय तालिकाअनुसार काम भए जस्तो मलाई लाग्दैन्  । तर पनि व्यक्तिगत आयातकर्ताहरू आफ्नो विद्युतीय सवारी साधनको पूर्वाधार तयार गर्न प्रयासरत छन् । जनताको चासो पनि यस्तो सवारी साधनमा देखिन्छ । 

अन्तर्राष्ट्रिय ब्राण्डका आधिकारिक वितरक  र नेपालभित्रका डिलरहरू एउटै संगठनमा हुनुहुन्छ । तपाईंहरूका वर्गीय समस्या कतिपय मिल्दैनन् । भोलि समस्या हुँदैन् ?
बिक्रेता र डिलरबीच मतभेद हुनसक्छ । तर यहाँ नाडाले व्यक्तिगत लाभका लागि नभई सामुहिक हितका लागि काम गर्छ । सबैका समस्यालाई सम्बोधन गर्न प्रयास गर्छ । नाडाले कसैप्रति भेदभाग गर्दैन् । म सबैसँग मिलेर र सबैलाई मिलाएर सामुहिक हितका लागि काम गर्छु । 

नाडा अटो शो महामारीले गर्दा गएको बर्ष प्रभावित भयो । यस बर्ष हुने संभावना के छ ?
गएको बर्ष कोभिडका कारण नाडा अटो शो आयोजनामा बाधा पर्यो । यो बर्ष पनि राम्रो अवस्था देखिएको छैन् । तर पनि हामी यस बर्ष परिस्थिति सहज हुनासाथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र्दै नाडा अटो शो आयोजना गर्न तयारी अवस्थामा छौं । 

तपाईं पूरानो र प्रतिष्ठित व्यवसायिक घरानाको मान्छे । अटोमोवाइल क्षेत्रमा तपाईंहरूको लामो अनुभवले नेपालको अटोमोवाइल इन्डष्ट्रिजको भविश्य कस्तो देख्नुहुन्छ रु कसरी यसलाई वृहत बनाउन सकिएला ? 
अटोमोवाइल विलासिताको नभई आवश्यकताको वस्तु बनेको छ । सवारी साधनबीना हाम्रो व्यक्तिगत र व्यवसायिक जीवन चलाउन नसकिने अवस्था बनिसकेकाले यसलाई विलासिता मान्न हुँदैन् । व्यक्तिको मोविलिटिले मुलुकको अर्थव्यवस्थाको वृद्धिलाई दर्साउँछ । यो सन्दर्भमा अटोमोवाइलको भविश्य अझै राम्रो र उज्जवतिर छ तर निजी सवारी साधनको स्वामित्वका लागि उनुकुल नीतिको आवश्यकता छ । 

नेपालमा गाडि सबै किसिमका छन् । तर सडक छैन । भएका सडक पनि व्यवस्थित र सुरक्षित नहुँदा बर्षेनी हजारौंले अकालमा ज्यान गुमाउनुपर्ने, अंगभंग हुनुपर्ने अवस्था छ । सडक पूर्वाधारको विकास गर्ने सरकारी नीति ठिक छ त रु सुरुङमार्गमा जोड दिनुपर्छ भन्ने लाग्छ कि ?
हाम्रो समग्र पूर्वाधार विकास र यसको व्यवस्थापनमा सुधार जरुरी छ । सुरुङ, फ्लाईओभर, सडक विस्तारलाई वैज्ञानिकढंगले अघि बढाउनु जरुरी छ । हामीले हतार र गुणस्तरहीन विकास गरेर समाजमा नकारात्मक प्रभाव पार्न दिन हुँदैन् । उनीहरूमा नकारात्मक सोच विकास गर्ने परिस्थिति निर्माण गर्न हुँदैन् । हाम्रो ट्राफिक व्यवस्थापन पनि कम श्रम प्रयोग हुने आधुनिक प्रविधियुक्त हुनुपर्छ । साथै, ट्राफिक नियमबारे आम मानिसमा जनचेतनाको पनि विकास गर्नु जरुरी छ । 

Advertisement

Advertisement