हिमाली संस्कृतिलाई विस्तार गर्दै चार महिला व्यवसायी, ‘लुक्ला आउटडोर’ काठमाडौं आइपुग्यो

Advertisement

काठमाडौं । चार महिला व्यवसायीहरुले विकट हिमाली जिल्ला सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको आफ्नो व्यवसाय राजधानी काठमाडौंसम्म विस्तार गर्न सफल भएका छन् । 

हिमाली संस्कृति र जीवनशैलीसँग जोड्दै ‘लुक्ला आउटडोर’ ब्राण्डमा उनीहरुले सुरु गरेको कपडाहरुको पसलको नयाँ आउटलेट काठमाडौंमा मण्डिखाटारमा पनि सञ्चालन ल्याइएको छ । चार महिला व्यवसायीले सन् २०१९ मा ‘लुक्ला आउटडोर’ सञ्चालनमा ल्याएका थिए । लुक्लामा उनीहरुको पसल निकै लोकप्रिय भइसकेको छ । 

Advertisement

आङछेची शेर्पा, पासाङ माया शेर्पा, अन्जु शेर्पा र विमला शेर्पा मिलेर यो व्यवसाय सुरु गरेका हुन् । उनीहरुले काठमाडौंमा ‘लुक्ला आउटडोर’ सञ्चालनमा ल्याएको एक हप्ता पनि भएको छैन् । यसलाई उनीहरुले अझै विस्तार गर्दै लैजाने योजनासमेत बनाएका छन् । 

यस व्यवसायकी सहसंस्थापक आङछेची शेर्पाले काठमाडौंमा ‘लुक्ला आउटडोर’ सञ्चालनमा आएसँगै धेरै तिरबाट चासो र आकर्षण बढेको बताइन् । उनले पहिलेदेखि नै आउटलेट खोल्न तयारी गरिए पनि कोरोना महामारी आदिले केही ढिलो भएको बचाउँदै औपचारिकरुपमा पसल सञ्चालनमा आएपछि मासिकहरुको चासो र आकर्षण बढेको बताइन् । 

आङछेची शेर्पाले भनिन, ‘हामीले काठमाडौमा ‘लुक्ला आउटडोर’को ओपनिङ गर्ने भनेर पहिलेदेखि नै सोचेका थियौं । तर कोरोनाका कारण रोकिरहेको थियो । अहिले ओपनिङ भइसकेपछि ग्राहकहरुको चहलपहल धेरै राम्रो बढेको छ । हाम्रो पसल हिमाली कला र संस्कृतिसँग जोडिएका सामान भएकाले पनि मानिसहरुको रुची धेरै देखिन्छ ।’

महिला व्यवसायीले आफ्नो व्यवसायको सुरुवात रेस्टुरेन्टबाट गरेका थिए । उनीहरुको लुक्लामा रेस्टुरेन्ट पनि छ । लुक्लामा मानिसहरु लुगाको खासै व्यापार नगर्ने भए पनि आफूहरुले नयाँ व्यवसायको सुरुवात गर्ने सोचका साथ ‘लुक्ला आउटडोर’ सुरु गरेका हुन् । तर अहिले अपेक्षा गरेभन्दा राम्रो लोकप्रियता हाँसिल गर्दा चारै जना व्यवसाय खुशी छन् । 

आङछेची शेर्पा थपिन, ‘रेष्टुरेन्ट सञ्चालन गर्ने क्रममै अब केही नयाँ काम सुरु गरौं भन्ने सोच आयो । त्यही भएर क्लोदिङ व्यसायमा लाग्यो । हामीले यो व्यवसाय  सुरु गर्दा कसैलाई पनि क्लोदिङ अनुभव थिएन । काम गर्दै जाँदा एकदम फरक अनुभव गरिरहेका छौं । राम्रो भइरहेको छ ।’

चार महिला व्यवसायीले पाँच–पाँच लाख रुपियाँ उठाएर सुरुवात गरेको कपडाको व्यवसायमा उनीहरु आफै डिजाइन गर्छन् । हिमाली संस्कृति झल्काउने पहिरनहरु तयार गर्छन् । आफ्नो अनुभव सुनाउँदै आङछेची शेर्पाले भनिन, ‘अरु क्षेत्रहरुमा हेर्ने होभने पुरुषहरु सक्रिय हुन्छन् । महिला त्यत्ति सक्रिय हुँदैनन् । तर खुम्बु क्षेत्रमा एकदम फरक छ । त्यहाँका महिलाहरु प्नि सक्रिय छन् । लाग्छ ८० प्रतिशत काम महिलाहरुले नै गर्छन् ।’

खुम्बु क्षेत्रका लजको कुरा गर्दा नाम पुरुषको आए पनि सबै काम महिलाले गर्ने गरेको उदाहरण दिँदै उनले थपिन, ‘हामीले सुरुमा विन्टर वयर निकाल्यो । उताको जीवनशैली र संस्कृतिलाई झल्काउने खालको पहिरनदेखि लिएर मुख्यत महिलालाई प्रतिनिधित्व गर्ने र उनीहरुको भूमिकालाई दर्साउने पहिरनहरु निकाल्छौं ।’ 

अबको योजना के छ ?
चार महिला व्यवसायको अबको योजना भनेको नेपाली बजारमा आफ्ना उत्पादनहरु पुर्याउनु हो । उनीहरुको यो योजनालाई कारोना महामारी बाधक बन्दै आएको छ । उनीहरु ‘लुक्ला आउटडोर’को अर्को आउटलेट ठमेलमा खोल्ने योजनामा छन् । आङछेची शेर्पा भन्छिन्, ‘पहिला हाम्रो आफ्नै उत्पादन थिएन् । अहिले आफ्नै प्रोडक्शन हाउस छ । हामीलाई धेरै अफरहरु पनि आइरहेको छ । तर हामी पहिला आफ्नो बेस राम्रो बनाएर जाउँ भनेमा छौं ।’

उनले आफू २४ वर्षको उमेरबाट व्यापारमा लागेको अनुभव सुनाउँदै भनिन्, ‘मास्टरमा आईटी पढ्न अष्टे्रलिया अप्लाई गर्न लागेको थिएँ, कोरोना महामारीका कारण संभव भएन् । अब नेपालमै बसेर केही गर्छु भन्ने हिसाबले यस क्षेत्रमा लागें । पहिले सानैदेखि नै छुट्टिको बेला लुक्लामा आमालाई घरको काममा सघाउने गर्थें । त्यसैले अनुभव पनि भयो । हस्पिटालिटी व्यवसायमा अनुभवको कारणले पनि होला एउटा रेस्टुरेन्ट खोल्ने सोच आयो । त्यही रेष्टुरेन्ट गर्दागर्दै ‘लुक्ला आउटडोर’ खोल्ने सोच पलायो ।’ 

आङछेची शेर्पाले अब बाहिर जाने कुनै योजना नरहेको पनि स्पष्ट पारिन् । आफ्नौ मुलुकमा बसेर केही गर्नुपर्छ भन्ने सोचमा रहेकी उनी नेपालको आर्थिक विकासको लागि नेपालमै आवश्यक सामानहरु उत्पादन गर्न जोड दिनुपर्ने बताउँछिन् ।  आङछेची शेर्पाले भनिन, ‘पहिलादेखि नै मान्छेहरुको गलत सोच के थियो भन्दा नेपालमै बनेको प्रोडक्टहरु अल्ली राम्रो र गुणस्तरीय हुँदैन् । तर नेपालमा बनेको प्रोडक्टमा मूल्य राम्रो हुन्छ । गुणस्तरीय पनि पाइन्छ । पहिला हाम्रो पनि त्यही गलत सोचाई थियो नेपालमा बनाएको राम्रो हुँदैन भन्ने । तर अहिले आएर थाहा भयो नेपालीहरु डिटेलमा गएर बुझ्दैन रहेछ ।’ उनले यस्तो सोचाई हटाउन पनि सबैलाई आग्रह गरिन् । 

Advertisement

Advertisement