आयल निगमले चर्को मूल्यवृद्धि गरेर उल्टै आपूर्ति घटाएपछि जताततै पम्पहरुमा लाइन सुरु
File Photo

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि गरेर पनि इन्धन आपूर्ति कटौती गरेपछि देशभरका पेट्रोल पम्पहरुमा लाइन लाग्न सुरु भएको छ । 

निगमले इन्धन बिक्री कटौती गरेपछि बजारमा अभाव देखिएको हो । निगमका डिपोहरुले मागअनुसार इन्धन उपलब्ध नगराएपछि पेट्रोल पम्पहरुले सुचना टाँसेर बन्द गरेका छन् भने सेना प्रहरीका पम्पहरुमा मानिसहरुको लामो लाइन सुरु भएको छ । यो समस्या राजधानी काठमाडौं बढी देख्खिएको छ । 
 
निगमले गए रातिबाट लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १०–१० रुपियाँ मूल्यवृद्धि गरेको थियो भने एलपी ग्यामा प्रतिसिलिण्डर दुईसय रुपियाँले मूल्यवृद्धि गरेको थियो । 

Advertisement

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार काठमाडौंमा मात्रै नभएर देशैभर इन्धनको अभाव देखिएको छ । डिलर व्यवसायीहरुले शुक्रबारदेखि नै इन्धन आपूर्तिमा कटौती गरिएको र आइतबार कत्ति पनि इन्धन नदिइएकाले बजारमा अभाव सुरु भएको बताएका छन् । 

यद्यपि निगमले भने आज सोमबार बेलुकीसम्म आपूर्तिको समस्या समाधान हुने दावी गरेको छ । मूल्य बढ्ने भएकाले शुक्रबार इन्धन कम वितरण गरे पन िअब त्यस्तो नहुने निगमका अधिकारीहरुको भनाई छ । 

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार इण्डियन आयल कर्पोरेशनलाई रकम भुक्तानी गर्न नसकेपछि आयल निगमले उधारो ल्याउँदै इन्धन बिक्री गर्दै आएको छ । यो उधारो अहिले बढेर २५ अर्बभन्दा बढी भइसकेको जनाइएको छ । अर्थ मन्त्रालयले भने चुनावमा धेरै खर्च भएको भन्दै अनुदान वा ऋण दिनसक्ने अवस्थामा आफूहरु नरहेको बताउँदै आएको छ । 

Advertisement

Advertisement