मूल्य बढाए पनि अझै मासिक सात लाख ७७ हजार घाटा छ, कुल घाटा ४७ लाख पुगिसक्योः बडू

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रिय सभामा उनले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको दावी गरे । बडूले २०७८ चैत्र महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एकपटक मात्र मूल्य समायोजन गरिएको बताए । 

Advertisement

उनले पेट्रोलमा अहिले पनि ३१ रुपियाँ ४१ पैसा प्रतिलिटर घाटा रही मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपियाँ ३३ पैसा प्रतिलिटर घाटा रही मासिक तीन अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा ७५१ रुपियाँ १४ पैसा प्रतिसिलिण्डर घाटा रही मासिक दुई अर्ब ८६ करोड घाटा तथा मट्टितेल र हवाई इन्धनमा मासिक ६५ करोड नाफा रहेको बताए । 

बडूले नाफा र घाटा मिलाउँदा हाल मासिकरुपमा नेपाल आयल निगम सात अर्ब ७७ करोड घाटामा रहेको, हालसम्म निगमलाई करिव ४७ अर्ब घाटा भइसकेको बताए । 

उनले निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि बताए । खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भई सदनमा पेस भएको थियो । 

देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराएका थिए ।

Advertisement

Advertisement