स्टार्टअप फेष्टले आइडिया छ भने लगानी गर्नेहरु पनि छन् भन्ने सन्देश देशभरी गएको छः जोशी

Advertisement

पर्यटन क्षेत्रमा २० वर्ष लामो समय व्यतित गरेका दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओ हुँदै अहिले  नेपाल उद्योग परिसंघ (सीएनआई)मा महानिर्देशकको रुपमा कार्यरत छन् । दुई महिनाअघि नियुक्ति पाएका उनले नेपालको समग्र उद्योग र व्यवसायको क्षेत्रलाई विकसित बनाउन सकिएन भने देश विकसित हुन नसक्ने बताउँछन् । देश र जनताको लागि काम र विशेषगरी आर्थिक क्षेत्रमा योगदान दिने इच्छानुसार आफू परिसंघमा आएको बताउने जोशी व्यवसायी र उद्यमीहरुको लागि काम गर्ने संगठन भएकाले परिसंघमार्फत नै केही गरेर देखाउन सकिन्छ भन्ने विश्वास रहेको बताउँछन् । 

भर्खरै मात्र परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेष्ट २०२२ को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल १० मध्ये सात वटा स्टार्टअपसँग प्रारम्भिक लगानी (साढे २४ करोड रुपियाँ)को सम्झौता भएको  छ । विशेषतः सोही विषयअन्तर्गत रहेर जोशीसँग कर्पोरेट नेपालले गरेको कुराकानीः

Advertisement

यो नेपाल उद्योग परिसंघ कस्तो संस्था हो ? 
परिसंघ करिब २० वर्ष अगाडि नेपाललाई समग्र आर्थिक क्षेत्रमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने सोचबाट अघि बढेको संस्था हो । खासगरी स्वदेशी उत्पादन, उपभोग बढाएर नेपालको औद्योगिक वातावरणलाई बढावा दिऔं भन्ने यसको समग्र दृष्टिकोण हो । नेपालको आर्थिक विकास, सीपको अभिवृद्धि, व्यवसायिक वातावरण तथा उद्यमशील विकास वृद्धि आदिमा काम गर्छौ । यसको साथसाथै सरकारसँग सहकार्य गरी केही राष्ट्रिय महत्वका अभियानहरु पनि चलाइराखेका छौं । मूलतः नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका खेल्नेगरी परिसंघ अगाडि बढिराखेको छ र त्यही अवधारणानुसार स्थापित संस्था हो । 

सीएनआईले विशेष युवा उद्योगीहरुलाई प्राथमिकता दिने गर्छ ?
सीएनआईभित्र अर्थतन्त्रका विभिन्न खण्डहरु जस्तोः कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायत परिषद् र समितिहरु छन् । यसले सबै प्रकारका उद्यमीहरुलाई समेट्छ । अस्ति भर्खर हामीले भव्य एक ऐतिहासिक कार्यक्रम गर्यौ । त्यो युवा उद्यमी मञ्चमार्फत सीएनआईले गरेको कार्यक्रम हो । पछिल्ला दिनमा युवाहरुमा एकदमै धेरै आईडिया, जोश र केही गरौं भन्ने आट छ तर कसरी गर्ने भन्ने अनुभव छैन् । उहाँहरुसँग क्षमता हुँदाहुँदै पनि पूँजीको समस्या छ । त्यस्ता युवाहरुको लागि हामीले तपाईंहरुसँग आइडिया छ भने पूँजी अर्थात् लगानीकर्ताहरु पनि छन है भनेर कार्यक्रममार्फत जोडिदिने काम गरेका थियौं जुन कार्यक्रम एउटा उत्सवकै रुपमा सम्पन्न गरियो । कार्यक्रममा म्यानेजमेन्ट, बिजनेस पढेका करिब पाँच हजार युवा, उद्यमीहरु र स्टार्टअपमा सोच बनाइराखेकादेखि लिएर अर्बपतिहरुसम्मको सहभागिता रहेको थियो । 

Advertisement

सर्वसाधारणले स्टार्टअपलाई कसरी बुझ्ने र स्टार्टअप फेस्टबारे प्रष्ट्याइदिनु न ? 
स्टार्टअपको परिभाषा पहिलो पटक बन्दै छ । व्यापारमा पहिलो पटक आउनेहरुलाई नवप्रवर्द्धन (स्टार्टअप) भनिन्छ, अर्थात् नयाँनयाँ आइडिया, सोचलाई समेट्ने हो । फेरि जति धेरै युवा भयो त्यति नै नयाँ सोच हुन्छ । नेपाल सबैभन्दा बढी युवा जनशक्ति भएको देश भएकाले ती युवाहरुलाई सानैदेखि अर्थतन्त्रको महत्व, व्यवसायिक वातावरण, उद्यमशीलता, औद्योगिकीकरण आदि कुराहरु बुझाउन सकियो भने दीर्घकालिन रुपमा देशलाई समृद्धि बनाउन सकिन्छ जसलाई हामीले एकदमै ठूलो प्राथमिकताका साथ आगाडि बढाउन खोजेका हौं । गत शनिबार भएको नेपाल स्टार्टअप फेस्ट २०२२ को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट तीन सयबढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको उपस्थितीमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् । त्यसले गर्दा युवा उद्यमीहरुलाई उत्साहित बनाएको छ र, नेपालभरि यदि हामीसँग आइडिया छ भने लगानी गर्ने मान्छेहरु पनि रहेछन् है भन्ने ठूलो सन्देश गएको छ । अहिले हाम्रो सबैभन्दा ठूलो प्रभावकारी कार्य वा योगदान उक्त कार्यक्रम नै भएको छ । जुन ऐतिहासिक रह्यो र यसले युवालाई साह्रै उत्साहित बनाएको छ । त्यसैले अब आगामी दिनमा यस्तो कार्यक्रम वार्षिक रुपमा गर्दै जाने सोच बनाएका छौं । 

साढे २४ करोड लगानीको प्रारम्भिक सम्झौतामा छनौट भएका सात वटा स्टार्टअप कुन–कुन र कति लगानीका छन् ?
हामीले केही समय अगाडि युवा उद्यमीहरुलाई बढवा दिनकै लागि सुरुमा स्टार्टअपको सूचना जारी गरेका थियौं । र, आएका करिब तीन सयबढी परियोजनामध्ये विशेषज्ञहरु राखेर सम्भाव्य, लाभदायक, टिकाउ १० वटा परियोजनाहरु छनौट गर्यौ जसमध्ये सात वटा परियोजनाहरु पुरस्कृत भए । सात वटा कम्पनीको परियोजनालाई डेढ करोडदेखि आठ करोड रुपियाँसम्मको लगानी आएको छ । प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टिम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । 

छनौट सात वटा कम्पनीको परियोजना परम्परागत या नयाँ कुन शैलीका छन् र उनीहरुप्रति सीएनआईको भूमिका कस्तो रहन्छ ?
लगानीकर्ता भने पूरानाहरु पनि हुनुहुन्छ जो पहिल्यैदेखि गरिराख्नु भएको छ । परम्परागत ढंगबाट आइराखेको व्यवसायिक घरानाहरुको आफ्नै सोच हुन्छ । उहाँहरुले पनि नयाँ विचार वा बाह्य विचारलाई अपनत्व गरेर लगानी गर्नु भनेको सुखद पक्ष हो । आएका केही इक्युटी क्यापिटल भेन्चर कम्पनीहरुले नविन आइडियाजलाई लगानी गर्ने र केही फाइदा आफूहरुले पनि बढाउने र त्यसले समाजमा प्रभाव पनि पार्ने हुन्छ । यसमा हामीले समन्वयकारी भूमिका खेलेको हो अर्थात् कक्षा कोठा सिर्जना गरिदिएको हो । नेपालमा उद्यमशीलता, व्यवसायिकता बढोस र युवा प्रतिभाहरु उत्साहित बनुन भन्ने मनसायले यो गरिएको हो । त्यसरी सातवटा विभिन्न विधामा आएका कम्पनीहरु छन् । लगानी खोज्ने र लगानी गर्नेहरुको बीचमा आपसी समझदारीका आधारमा हुने हो, त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । हामी आइडिया र लगानीकर्ताहरुलाई जोड्ने काम गर्छौ र त्यससम्बन्धमा जनचेतना, शिक्षा, जागरुकता बढाउने कामहरु गर्छौ । त्यही भएर सबैतिरका युथहरुलाई समेट्ने गरी यसलाई हामीले स्टार्टअप अभियानको हिसाबले अगाडि बढाएका छौं । 

कार्यक्रममार्फत छनौट भएका परियोजनाले देशमा अनुमानित कति रोजगारी सिर्जना गर्छ होला ?
रोजगारीको क्षेत्रमा यसले निकै राम्रो प्रभाव पार्छ । सात वटा परियोजनामा थप लगानी थपिएकै नयाँ रोजगारी लिनको लागि हो । किनभने युवा विचारमा जहिले पनि कर्मचारीहरुको खर्च अर्थात् संचालन लागत करिब ३०–४० प्रतिशत हुन्छ । त्यसले गर्दा पनि रोजगारी अथाह सिर्जना गर्छ । सोही कार्यक्रम भएकै दिन पनि यूके एड, सीएनआईका अरु लगानीकर्ता अर्थात् सहयोगी निकायहरुबाट यदि रोजगारी सिर्जना गर्ने खालका कम्पनीहरु छन् भने सीप विकासमा थप लगानी हामी गर्छौ है भन्ने खालका प्रतिवद्धताहरु पनि आएका छन् । सम्झौतानै भइसकेकाहरु सात वटा भएपनि प्रत्यक्ष अप्रत्यक्ष अरु प्रतिवद्धताहरु पनि धेरै आएका छन् । 

स्टार्टअपको अवधारणा अहिले नेपालमा कुन चरणमा छ ?
पछिल्लो समयमा यो अवधारणालाई अपनाउने थुप्रै युवाहरु आएका छन् । देशमा उद्योग व्यवसाय फस्टाएन, आर्थिक वातावरण बनेन भने देशले समृद्धि हासिल गर्न सक्दैन भन्ने धेरै युवाले बुझ्न थालेका छन् । विगत लामो समयदेखि हामी कहाँ देखिएको समस्या भनेको हिजोका दिनमा पढ्ने भनेकै जागीर खानको लागि हो भन्ने मानसिकता थियो । पढेर व्यापार, व्यवसाय पनि गर्न सकिन्छ भन्ने खालको धारणा थिएन । तर, पछिल्ला दिनमा जसले जहाँबाट पनि विश्वभर आफ्नो प्रस्तुती देखाउन सक्ने अवस्था भयो । आजका दिनमा थुप्रै नेपाली युवा प्रतिभाशालीहरुले विदेशी ठूलठूला कम्पनीहरुका लागि नेपालमै बसेर काम गरिराख्नु भएको छ र लाखौं कमाइराख्नु भएको छ । यो अवस्था अझै बढ्दै जाओस् । देशको आर्थिक वातावरण बढ्दै जाओस भन्ने लाइनमै हाम्रो अभियान पनि हो । 

जिर्ण उद्योगलाई पुनरुस्थान गर्ने भन्ने सरकारको योजनालाई कसरी लिनु भएको छ ?
जिर्ण उद्योगहरुलाई पुनरुस्थान गर्ने सम्बन्धमा पटक पटक प्रयास भएपनि सफल हुन सकिराखेको छैन । सरकारले आफै व्यवसाय गर्ने भन्दा पनि व्यवसायमा सहजीकरण गरिदिने काम गरे एकदमै राम्रो हुन्छ । विभिन्न मोडालिटीमा सरकारका सम्पत्तिहरु छन्, कतिपय ठाउँमा मेशीनहरु, उपकरणहरु छन्, तिनको सदुपयोग गर्न मोडालिटी बनाएर अघि बढ्न सकिन्छ । जसको लागि अनुभव र विज्ञ सरकारसँग नहुन सक्छ । त्यसलाई निजी क्षेत्रलाई चलाउन दिन सकिदैन भने पब्लिक प्राइभेट मोडलमा चलाउन दियो भने हुन्छ । त्यसैले निजी क्षेत्रको अनुभव, विज्ञतालाई जोडेर चलाउने मेकानिजम भयो भने त्यसले फलदायी बनाउछ नत्र भने बजेटमा र नाराका रुपमा आउने र सफल नहुने हुन्छ । हामीले विगतमा पनि हेर्यौ, पटक पटक प्रयास हुँदा पनि ति चिजहरु सफल भएका छैनन् । तर ती उपकरणहरु, सम्पत्तिहरुको उपयोग वा सदुपयोग हुनुपर्छ र निजी क्षेत्रको सहभागिता वा संलग्नतामा भइदियो भने त्यसले प्रभावकारी भूमिका खेल्छ । 

Advertisement