Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवि, धनाढ्यहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् । 

मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णालीमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती क्षेत्रभन्दा कर्णाली नै बौद्धिक देखिएको तर्क गरे । 

Advertisement

खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरु बस्ने वागमती र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए । उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए । 

खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताए । सापुङले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्नपनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए । 

उनले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । खापुङले कोरोनाको संक्रमण बढिरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गरे । 

उनले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताए । सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सापुङले यसमा सबैले सहयोग गर्न र यो काम आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । 
 

Advertisement

Advertisement