दुई विकास बैंकले एक अर्ब नघाए नाफाः यस्तो छ मुक्तिनाथ र गरिमाको वित्तीय सूचक

Advertisement

काठमाडौँ । राष्ट्रिय स्तरका ८ विकास बैंकले गत आव २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

राष्ट्र बैंकले निर्धारण गरेको साउन २१ गतेसम्मको सीमा भित्रै विकास बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो आवमा भन्दा गत आवमा विकास बैंकहरुले २५.९४ प्रतिशतले नाफा बढाएका छन् । 

Advertisement

विकास बैंकहरुले गत आवमा ६ अर्ब ६२ करोड ७८ रुपियँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा भने ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपियाँ नाफा कमाएका थिए । 

अघिल्लो आवमा मुक्तिनाथ विकास बैंकले मात्रै एक अर्ब बढी नाफा कमाएकोमा गत आवमा एक अर्ब बढी नाफा कमाउने विकास बैंकको सूचीमा गरिमा विकास बैंक पनि थपिएको छ । 

यस्तो छ एक अर्ब नाफा नघाउने दुई विकास बैंकको वित्तीय अवस्थाः 

१. मुक्तिनाथ विकास बैंक 
मुक्तिनाथ विकास बैंकमिटेडले १ अर्ब ३७ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपियाँ छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपियाँ २२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ ।

२. गरिमा विकास बैंक 
गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा  १ अर्ब ५ करोड ६६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपियाँ छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.५० प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपियाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।

राष्ट्रिय स्तरका अरु ६ विकास बैंकले कति कमाए नाफा ? 
१. महालक्ष्मी विकास बैंक
महालक्ष्मी गत आवमा ९५ करोड १९ लाख ८ हजार रुपियाँ नाफा कमाएको छ । अघिल्लो आवमा ६६ करोड ९९ हजार रुपियाँ नाफा कमाएको थियो । 

२. ज्योति विकास बैंक
ज्योतिले गत आवमा ७० करोड १५ लाख ३ हजार रुपियाँ नाफा कमाएको छ । अघिल्लो आवमा ६६ करोड ३८ लाख ६९ हजार रुपियाँ नाफा कमाएको थियो । 

३. लुम्बिनी विकास बैंक
लुम्बिनीले ६७ करोड ५६ लाख ३२ हजार रुपियाँ नाफा कमाएको छ । अघिल्लो आवमा ४३ करोड ३९ लाख ६७ हजार रुपियाँ नाफा कमाएको थियो । 

४. शाईन रेसुङ्गा विकास बैंक
शाईन रेसुङ्गाले ६४ करोड ५२ लाख ८९ हजार रुपियाँ नाफा कमाएको छ । अघिल्लो आवमा ५० करोड ३७ लाख २१ हजार रुपियाँ नाफा कमाएको थियो ।

५. कामना सेवा विकास बैंक
कामना सेवाले ६३ करोड ९ लाख ७५ हजार नाफा कमाएको छ । अघिल्लो आवमा ५९ करोड ८१ लाख ७५ हजार रुपियाँ नाफा कमाएको थियो । 

६. सांग्रिला विकास बैंक
सांग्रिलाले ५९ करोड ५८ लाख १५ हजार रुपियाँ नाफा कमाएको छ । अघिल्लो आवमा ४१ करोड ८० हजार रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

Advertisement