Advertisement

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । 

बिहीवार न्युज एजेन्सी नेपालसँग उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन् । 

Advertisement

झाले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताउँदै कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए । 

उनले मन्त्रालयले पूर्वमहाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाउँदै अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताए । 

अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई  नाफामा लगेर देखाउने झाको दावी छ । उनले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । झाले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए । उनले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताए । 

महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए । उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा, काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । 

झाले आगामी शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताए । उनले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताए । 

Advertisement

Advertisement