होडिङ बोर्डमा हुने ठेक्का प्रथा रोक्दैछौंः हुमागाईं, डिजिटल मिडिया व्यवस्थापनमा सरकारकै असहयोग

Advertisement

काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् । 

आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्थलगत विज्ञापनको लागि अझै पनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानून बनाएर लागू गर्ने बताए । 

Advertisement

हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजश्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन बापतको राजश्व ठेकेदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताए । उनले विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरुले उठाइरहेको बताए । 

हुमागाईंले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीचको द्वोन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताए । उनले यसको लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजश्व स्थानीय सरकारले उठाउन पाउने गरी कानून मन्त्रिपरिषद्ले पास गर्ने बताए । 

अध्यक्ष हुमागाईंले बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने बताए । उनले बढीमा चार पाँच महिनाभित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउँदै डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग भए पनि सरकारी कर्मचारीहरुको नै असहयोग रहेको बताए । 

उनले बोर्डको पहलमा चालु आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्न पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताए । उनले मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम तत्काल लागू हुने बताए । त्यस्तै अध्यक्ष हुमागाईंले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्ने पनि बताए । उनले डविङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कही डविङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरुसँग आग्रह गरे ।

Advertisement

Advertisement