उर्जाको आन्तरिक खपत बढाउने हो, तर खपत नहुने उर्जा निर्यात गर्नुपर्छः उर्जामन्त्री

Advertisement

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छन् । 

सोमवार संयुक्त राष्ट्र संघीय विकास संस्था युएनडीपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१–२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन् । 

Advertisement

भुसालले कृषि, पर्यटन र उर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक श्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताइन । उनले औद्योगिकीकरण, यातायात सञ्चालन, सिंचाई, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताइन् । 

भुसालले उर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने उर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको बताइन् । उनले देशमा उत्पादन हुने विद्युत पूर्ण रुपमा नवीकरणीय, स्वच्छ उर्जा भएकोले हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गरिन् । 

भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको पनि बताइन् । उनले सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत आधारभुत आवश्यकताका साथै उत्पादनको साधन भएको बतायन् । 

मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताइन् । उनले यस वर्ष आन्तरिक विद्युतको खपत करिव २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बतायन् । 

नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३ औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।  

Advertisement

Advertisement