पुसदेखि विदेशी वायुसेवालाई भैरहवाबाट पनि उडान गर्न बाध्यकारी बनाउँदै प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल  नागरिक उड्डयन प्राधिकरणले त्रिभुवनमा विमानस्थलमा दैनिक तीनवटाभन्दा बढी उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई आउँदो पुस १ (डिसेम्बर १६)बाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्न बाध्यकारी बनाउने तयारी गरेको छ । 

त्रिभुवन विमानस्थलमा हवाई चाप बढेको तर भैरहवामा खाली भएको भन्दै प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो । स्वदेशी एयरलाइन्सहरु नेपाल वायुसेवा र हिमालय एयरलाइन्सले भैरहवाबाट उडान गर्न आनाकानी गर्दै आएको बेला भैरहवाबाट समेत विदेशी वायुसेवा सञ्चालन गराउने प्राधिकरणको योजना चुनौतिपूर्ण देखिन्छ । 

Advertisement

प्राधिकरणले आइतबार भैरहवाबाट उडान गर्न अटेर गरेको भन्दै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई कारवाही गरेको थियो । सोही क्रममा नेपाल एयरलाइन्सको दिल्ली उड्न लागेको जहाजलाई प्राधिकरणले अनुमति नदिएर रोकेपछि यात्रुहरुको विचल्ली भएको थियो । 

भैरहवाबाट उडान गर्न आवश्यक पूर्वाधार र तयारी भइनसकेको भन्दै अन्तर्राष्ट्रिय उडानका नेपाली कम्पनीहरु भैरहवाबाट उडान गर्न अस्वीकार गर्दै आएका छन् । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन विमानस्थलमा हवाई चाप बढेको र विदेशी एयरलाइन्सलाई समेत पुस १ बाट भैरहवाबाट पनि उडान गर्नुपर्ने बाध्यताकारी व्यवस्था गर्न लागेको बेलामा स्वदेशी कम्पनीले अटेर गरेको गुनासो गरे । 

उनले ४५ दिनको समय दिएर विदेशी वायुसेवामध्ये त्रिभुवन विमानस्थलमा दैनिक तीन वटाभन्दा बढी उडान गर्दै आएका कम्पनीहरुले भैरहवाबाट समेत उडान गर्ने तालिका तयार गर्नुपर्ने व्यवस्था गरिएको बताए । भुलले त्रिभुवन विमानस्थलको धावनमार्गसहित अन्य सुधारको समय समेत नजिकिएको अवस्थामा स्वदेशी र विदेशी एयरलाइन्सहरुलाई भैरहवाबाट ट्रान्जिट उडान गराउन लागिएको बताए । 

उनले भने, ‘प्राधिकरणले काठमाडौंबाट भइरहेको उडान घटाएर भैरहवा विमानस्थलबाट गराउन खोजेको हो । काठमाडौंमा हवाई ट्राफिक पनि धेरै छ । भैरहवा विमानस्थल खाली छ । यस्तो अवस्थामा स्वदेशी एयरलाइन्सहरुले नै भैरहवा उडान गर्न आनाकानी गरेमा विदेशी एयरलाइन्सहरुलाई कसरी उडान गराउने ?’ हरेक अक्टोबर ३० मा ‘विन्टर सिजन’को नयाँ उडान तालिका बन्ने भएकाले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आइतबारबाट नयाँ तालिका बनाउन निर्देशन दिइएको थियो । तर उनीहरुले विभिन्न कारण देखाउँदै भैरहवाबाट उडान गर्न अस्वीकार गरेका हुन् ।  

Advertisement

Advertisement