सरकार र निजी क्षेत्र भनेको एउटै हो, नीतिमै त्यो व्यवस्था छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको बताए । 

निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताउँदै शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको बताए । तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको उनले बताए । शर्माले समयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताए । 

Advertisement

उनले भने, ‘सरकारले निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ, त्यो होइन । त्यो बुझाइबाट मुक्त हुन म आग्रह गर्छु । त्यो बुझाइ बिल्कुल छैन । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटो भन्ने सोचेको छ । नीतिमा पनि यो स्पष्ट व्यवस्था छ । हामीले फरक बुझेकै छैन् । तत्काल परेका समस्याहरु खुला छौँ । छलफल गर्छौं । सुधार गर्नुपर्ने कुरामा सुधार गर्न तयार छौँ । समयानुसारको नीतिहरुको निर्माण गर्दै जानुपर्छ । नीतिहरु निर्माणमा लचकता हुनुपर्छ, सरकार लचकता अपनाउने कुरामा दृढ छ ।’

अर्थमन्त्री शर्माले तीब्र आर्थिक विकासको जनचाहना आवश्यक रहेको बताए । उनले अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्न चलायमान बनाउने चुनौती रहे पनि सरकार त्यसमा लागिपरेको बताए । अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको शर्माले बताए । 

उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताउँदै उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए । शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए । उनले नीति निर्माण राम्रा भए पनि नीतिहरुलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता रहेको बताए । 

नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको शर्माले बताए । उनले निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए । शर्माले सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको पनि बताए । 

Advertisement

Advertisement