पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबल विजेता

Advertisement

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा साविक विजेता फ्रान्सलाई रोक्दै अर्जेन्टिनाले पेनाल्टीमा ४–२ गोल गर्दै इतिहास बनाउन सफल भएको हो । 

निर्धारित ९० मिनेटको समयमा २–२ गोलको बराबरी खेलेका दुवैले अतिरिक्त समयमा थप १–१ गर्दै ३–३ को बराबरी गरेका थिए । तर पेनाल्टी सुटआउट चरणमा प्रवेश गर्दा फ्रान्सले लगातार दोस्रो पटक विश्वकप जिनेर रेकर्ड बनाउने मौका गुमायो । 

Advertisement

यस खेलसँगै अर्जेन्टिनी क्याप्टेन लियोनेल मेस्सीको सुखद बर्हिगमन पनि भएको छ । उनले आफ्नो मुलुकलाई तेस्रो पटक उपाधि दिलाउँदै विदा लिने मौका पाएका छन् । 

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा निर्धारित समयमा बराबरी पछि अतिरिक्त समयको खेलको १०८औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाए पनि ११८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी  गरेपछि खेल निकै रोचक बन्न पुगेको थियो । 

निर्धारित ९० मिनेटको खेलको अन्तिम समयमा फ्रान्सले एक मिनेटको अन्तरले दुई गोल गर्दै सबैलाई आश्चर्यमा पार्दै अनपेक्षितरुपमा पुरागमन गरेपछि खेल फ्रान्सका समर्थकहरुमा खुशियाली छाएको थियो । फ्रान्सका लागि तीन वटै गोल क्याप्टेन एम्बाप्पेले गरेका थिए । 

अर्जेन्टिनाले आफ्नो अग्रता कायम गर्न नसक्दा खेल लम्बिए पनि उसलाई पेनाल्टी सुटआउट भाग्यशाली रह्यो । फ्रान्सका खेलाडी एक गोल गोल पोष्टमा गर्न नसकी पोलमा लागेर फर्किंदा र अर्को गोल अर्जेन्टिनाका गोलकिपरले रोक्दा फ्रान्स पेनाल्टी सुटआउटमा ४–२ उपविजेता हुन पुगेको हो । 

निर्धारित ९० मिनेटको खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । एमबाप्पेले उक्त पेनाल्टीको सदुपयोग गर्दै गोल गरेपछि २–१ को स्थितिमा पुर्याएको एक मिनेटमा शान्दार दोस्रो गोल गर्दै २–२ को बराबरी दिलाएका थिए । 

यसअघि अर्जेन्टिनाका लागि कप्तान मेस्सी  र डि मारियाले गोल गरेका थिए । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि ३६औँ मिनेटमा डि मारियाले शान्दार गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए । उक्त गोलसँगै अर्जेन्टिनाको सहज जितको आशा गरिए पनि अन्तिम समयमा फ्रान्सले रोचक पुरागमनपछि खेल लम्बिन पुगेको थियो । 

अर्जेन्टिनाले ३६ वर्षपछि पुनः विश्वकप फुटबलको उपाधि जितेको हो। यसअघि सन् १९७८ र १९८६ मा उसले विश्वकप जितेको थियो । 

Advertisement

Advertisement