हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न नदिने निर्णय

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिने कुरालाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले पुनः स्थगन गरेको छ ।

हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रयोजनका लागि यन्त्र उपकरण आदिको व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेकोले मिति २०७९ भदौ २८ तथा २०७९ असोज ४ मा प्रदान गरिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको हो । 

Advertisement

ग्राउन्ड ह्यान्डलिङका निर्देशिका २०७२ को दफा ४ बमोजिम हप्ताको ३५ वटा भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने नियम छ । त्यो अधिकार अनुसार हिमालय एयरलाइन्सले हप्ताको ४० वटा भन्दा बढी उडान गर्दै आएको अवस्थामा २०७७ सालमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न प्राधिकरणले अनुमति दिएको थियो । 

सोही निर्देशिका बमोजिम अनुमति पाएको एक वर्ष भित्र ग्राउन्ड इक्विपमेन्ट खरिद गरी सेवा सुचारु गर्नुपर्नेमा हिमालय एयरलाइन्सले सो नगरिसकेको कारणले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न नदिने भनेर हिमालय एयरलाइन्सको पहिलाको अनुमति खारेज गरेको प्राधिकरणका सुचना अधिकृत ज्ञानेन्द्र भुलको भनाई छ । 
 
राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस्तो अवस्थामा राष्ट्रिय उसलाई संरक्षण गर्नु राज्यको दायित्व भएकोले निजी वायुसेवा हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति खारेज गरी नियमको हितमा राष्ट्रिवादी निर्णय गरेको प्राधिकरणले तर्क गरेको छ । 

हिमाल एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिँदा निगमको आम्दानी करिब २० प्रतिशत गुम्ने खतरा रहेको बताउँदै प्राधिकरणले आफ्नो निर्णयले निगमलाई आर्थिक रुपमा महत्वपूर्ण फाईदा पुगेको दावी गरेको छ । 

Advertisement

Advertisement