बुटवलमा औद्योगिक प्रदर्शनी सुरुः राष्ट्रिय अर्थतन्त्र अफ्ठ्यारो परिस्थितिको सामना गर्दैछः राष्ट्रपति

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छन् । बिहीवारबाट बुटवलमा सुरु भएको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटनका क्रममा उनले एकातिर व्यापार घाटा निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता बिस्तार भइरहेको बताइन् । 

भण्डारीले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताउँदै चुनौतीहरुबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य बनाउनुपर्ने बताइन् । मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अवलम्वन गर्नु अति आवश्यक भएको उनको भनाई छ ।

Advertisement

राष्ट्रपति भण्डारीले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरुलाई प्रेरित गर्न उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्न जरुरी रहेको बताइन् । उनले उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्नसके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिने बताइन् । 

भण्डारीले भनिन, ‘वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ । एकातिर व्यापार घाटा, निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता बिस्तार भइरहेको छ । यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप बढेको छ । हामीले यी चुनौतीहरुबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य बनाउनु पर्छ ।’ 

रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी पुस १९ पुससम्म चल्ने छ । 

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ नारासहित सुरु भएको यो १५औं संस्करणको औद्योगिक प्रदर्शनी हो । यसअघि अस्थायी मण्डप र स्टलहरु निर्माण गरी हुँदै आएको यो प्रदर्शन अहिले नयाँ निर्माण भएको बुटवल मण्डपमा आयोजना भएको छ । 

प्रदर्शनीमा करिब चार सय स्टल रहेको र विधाअनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था रहेको आयोजकको भनाई छ । स्वदेशी उद्योगको संरक्षण गर्नुपर्ने सन्देश आमरुपमा फैलाउनुपर्ने दायित्वसँगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पुर्याउने साझा थलोका रुपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिएको बताइएको छ । 

Advertisement

Advertisement