तिमी जल्नै नपर्ने थियो जल्यौ

Advertisement

– डा. अरुण सेढाई

तिमी जल्नै नपर्ने थियो जल्यौ
तिमी बल्नै नहुने थियो बल्यौ
जलाउनु पर्ने अरु नै थिए
डढाउनु पर्ने अरु नै थिए ।

Advertisement

अभिव्यक्ति पढ्दा लाग्यो,
जुन जलन वर्षौँदेखि खपिरहेथ्यौ
जुन पीडा जुगौँदेखि भोगिरहेथ्यौ
तिनका तुलनामा यो क्षणिक जलन 
तिम्रा लागि केही थिएन ।

टाउकोको मूल्य तोक्ने र तोकिनेहरु
समयान्तरमा घाँटी जोड्नेहरुको देश हो यो
तीस हजार तलब खाएर
तीस करोडको महलमा बस्नेहरुको देश हो यो
हुँदा खाँदाको घर पोलेर 
खरानीको मोल मोलाई गरिबस्नेहरुको देश हो यो । 

तिमी त गयौ, 
भ्रमको जन्जीर तोडेर गयौ
असमानताको बन्धन फोडेर गयौ
तर, तिमीले यहीँ जुध्नुपर्नेथ्यो
आफ्नो लागि नभ‌ए नि
आश्रितका खातिर लड्नु पर्नेथ्यो ।

(स्व. प्रेम आचार्यप्रति हार्दिक श्रद्धाञ्जली सहित)

Advertisement

Advertisement