एभरेष्ट बैंक नाफा बढाउनेमा पहिलो, कस्तो छ ‘टप थ्री’ बैंकको वित्तीय अवस्था ?

Advertisement

काठमाडौं । हाल अस्तित्वमा रहेका २२ वाणिज्य बैंक मध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी नाफा बढाएको छ । गत शनिबार वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका हुन् । 

उक्त वित्तीय विवरण अनुसार एभरेष्ट बैंकले सबैभन्दा बढी ८९.२९ प्रतिशतले नाफा बढाएको हो । नाफा बढाउनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक दोस्रो नम्बरमा देखिएको छ । उक्त बैंकले ६१.३६ प्रतिशतले नाफा बढाउँदा नबिल बैंक तेस्रो नम्बरमा देखिएको छ । नबिलले गत आवको समीक्षा अवधि भन्दा चालु आवमा ५६.६७ प्रतिशतले नाफा बढाउन सफल भयो । 

Advertisement

वित्तीय विवरण अनुसार एभरेष्टले छ महिनामा एक अर्ब ५८ करोड, स्ट्याण्डर्ड चार्टर्डले एक अर्ब ७५ करोड र नबिलले ३ अर्ब ४१ करोड नाफा कमाएको छ । 

१. एभरेष्ट बैंक
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५८ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ८३ करोड ८९ लाख रुपियाँ थियो ।  बैंकले प्रकाशित गरेको छ महिनाको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रहेको छ । बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड छ । 

गत आवमा १ अर्ब १९ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर २ अर्ब २६ करोड पुगेको छ । २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडको पुगेको छ ।  समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा १ खर्ब ७२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको रु. २२.६० रहेको इपीएस बढेर २९.६९ रुपियाँ पुगेको छ भने सीडी रेसियो ८६.९९ प्रतिशत, ९.९७ प्रतिशत आधार दर कायम गरेको बैंकको पीई रेसियो १७.०८ गुणा कायम भएको बैंकको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । 

२. स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढ्दा वितरणयोग्य मुनाफा १ अर्ब नाघेको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७५ करोड ३६ लाख रुपियाँ  खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपियाँ १९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपियाँ ७३ पैसा छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ । बैंकको निक्षेप ९.६० प्रतिशत बढेको छ भने कर्जा २.३२ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ ।

३. नबिल बैंक
नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साढे तीन अर्ब खुद नाफा कमाएको छ । सो बैंकले शनिबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा तीन अर्ब ४१ करोड ७६ लाख रुपियाँ खुद नाफा कमाएको देखिएको छ । 

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो । गत आर्थिक बर्षको पहिलो छ महिनामा नविलले दुई अर्ब १८ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । 

दोस्रो त्रैमाससम्म नविल बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ५६।९१ प्रतिशतले र सञ्चालन मुनाफा ५६.०६ प्रतिशतले बढेको छ । 

नाफासँगै नविल बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि एक रुपियाँ ६७ पैसा बढेर २५ रुपियाँ २६ पैसा कायम भएको छ । समीक्षा अवधिमा प्रतिशेयर नेटवर्थ १९९ रुपियाँ १२ पैसा रहेको छ ।

वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)

राष्ट्रिय स्तरका विकास बैंक: तीन वटाको नाफा बढ्दा अरुको घट्यो (सूचीसहित)

तीन फाइनान्सले नाफा बढाउँदा ११ वटाको घट्यो, कस्को कति ? (सूचीसहित)

छ महिनामा धेरै नाफा कमाउने ‘टप फाइभ’ बैंकः कुनको वित्तीय अवस्था कस्तो ?

 

 

 

Advertisement