लिङ्देनले पीपीएको गाँठो खोल्दिएकोमा इप्पानको स्वागत, ‘अब उर्जा व्यापारको ढोका खोल्देउ’

Advertisement

काठमाडौं । निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था इप्पानले नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको विद्युत खरीद सम्झौता (पीपीए) खुल्ला गरेकोमा उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेन र उर्जाराज्यमन्त्री दीपक सिंहलाई धन्यवाद दिएको छ । 

आइतबार पत्रकार सम्मेलन गरी इप्पानले चार बर्षदेखि नेपाल विद्युत प्राधिकरणले अडकाएर राखेको पीपीएको गाँठो फुकाएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएको हो । यसले उर्जा क्षेत्रमा थप निजी लगानीको बाटो खुलेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए । 

Advertisement

प्राधिकरणको यही माघ २६ गते बसेको सन्चालक समितिको बैठकले थप एक हजार पाँच सय मेगावाटसम्मका आरओआर जलबिद्युत आयोजनााहरुको पीपीए)खुला गर्ने निर्णय गरेको थियो । उनले मन्त्रीहरुको यस्तो अग्रगामी पहलकदमी नभएको भए बिगतमा झैं पीपीए खुला गर्ने कार्य बिलम्ब हुन गई यस क्षेत्रमा थप अन्योलको अवस्था सिर्जना हुने थियो भने । 

पीपीए रोक्ने कुराले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको सम्बाहकका रुपमा बिकास गर्ने सरकारको लक्ष्यमा गम्भीर बाधा उत्पन्न हुने थियो भन्दै इप्पानले आफ्नो विज्ञप्तिमा भनिएको छ, ‘आरओआर आयोजनाहरुको पीपीए ठप्प हुदा समग्र ऊर्जा क्षेत्र संकटग्रस्त अवस्थामा पुग्नुको साथै नेपालमा समग्र लगानीको वाताबरण छैन भन्ने देश, बिदेशमा सन्देश प्रवाह हुन थालेको थियो ।’

सबै प्रक्रिया पुरा गरेर प्राधिकरणमा २४० ओटा परियोजनाहरुले ११ हजार ७१६ मेगावाट बराबरको पीपीएका लागि आबेदन गरेका छन् । तर प्राधिकरणले विद्युत प्रसारण र वितरणको पूर्वाधार नै नई पीपीए गर्दा विद्युत खेर जाने अवस्था सिर्जना हुने भन्दै पीपीए गर्न आनकानी गर्दै आएको थियो । 

पीपीए नहुँदा निजी क्षेत्रको खर्वौं लगानी उच्च जोखिममा पर्नुका साथै केही बर्षपछि नै मुलुक फेरि अन्धकार (लोडसेडिङ) तिर धकेलिने अवस्थाको सिर्जना भएको थियो भन्दै आचार्यले बिगतमा उर्जा उत्पादनसँग सम्वन्धित निकायको उपेक्षाका कारण १८ घण्टासम्मको लोडसेडिङको अवस्था सिर्जना भएको स्मरण गरे । 

अहिले देशको कुल जडित क्षमता करिब दुई हजार ४३० मेगावाट रहेकोमा आफूहरुको योगदान एक हजार सात सय मेगावाट भन्दा बढी रहेको निजी क्षेत्रको दावी छ । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्व रुपियाँ लगानी रहेको बताइन्छ । ऊर्जा उत्पादन निजी क्षेत्रको यस्तो योगदानका कारण अहिले देश बिद्युत ऊर्जामा आत्मनिर्भर हुने चरणमा प्रबेश गरेको र गएको पाँच महिनामा करिब ११ अर्ब रुपियाँको निर्यात गरी पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरणमा सहयोग पुर्याउन सक्ने अवस्थामा पुगेको इप्पानको भनाई छ । 

निजी क्षेत्रका कारण उत्साहजनकढंगले ऊर्जा उत्पादन भइरहेको वर्तमान अवस्थामा यो क्षेत्रमा नयाँ चुनौतिहरु देखा परेको भन्दै इप्पानले गएको बर्षा याममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरुको बिद्युत प्राधिकरणले बिभिन्न बाहनामा बिद्युत खरिद नगर्दा करिब दुई अर्ब रुपियाँ बराबरको बिद्युत खेर गएको बताएको छ । 

चालु बर्षमा करिब आठ सय मेगावाट प्रणालीमा थपिएर करिब तीन हजार मेगावाट पुग्दै छ । यसले आगामी बर्षा याममा बिद्युत खेर जाने समस्या झन भयावह हुने देखिन्छ । यो समस्याको सिर्जना हुनुको मूल कारण बिद्युत ब्यापारको लागि निजी क्षेत्रलाई अनुमति पत्र नदिनु हो भन्दै इप्पानले निजी क्षेत्रलाई बिद्युत खरिद, बिक्रीको लागि सरकारले ढोका खोलिदिने हो भने आफूले उत्पादन गरेको बिद्युतको आन्तरिक खपत र बाह्य ब्यापारको लागि निजी क्षेत्र तयार रहेको बताएको छ । 

विज्ञप्तिमा थप भनिएको छ, ‘यो एजेण्डा ईप्पानले बिगत केही बर्षदेखि मूल एजेण्डाका रुपमा उठाउँदै आए पनि निष्कर्षमा पुग्न सकेको छैन । नयाँ ऐन जारी गर्ने प्रक्रिया केही लामो हुने हुँदा सरकारले मन्त्रिपरिषदबाट पारित गरेर बिद्युत ब्यापारको लागि निजी क्षेत्रलाई अबिलम्ब अनुमति दिन हामी सरकारसँग जोडदार माग चाहान्छौं ।’ 

ईप्पानको पहलमा चार बर्षअघि स्वतन्त्र ऊर्जा उत्पादकहरुले नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी स्थापना गरेर बिद्युत ब्यापारको लागि तयारी अवस्थामा रहेको पनि आचार्यले बताए । उनले यसलाई सहयोग पुर्याउन सरकार ऊर्जा बजार बिस्तारका लागि आक्रमक हुनपर्ने बताए । 

साथै इप्पानले प्राधिकरणले सौर्य बिद्युतको लागि बोलकबोलको अधिकतम दर ५.९४ रुपियाँ खरिद दर निर्धारण गरेको र यो दर समय सापेक्षित नभएको भन्दै यो दरले सौर्य आयोजनाहरु निर्माण गर्न नसकिने बताएको छ । 

Advertisement

Advertisement