अब सबै सरकारी निकायले अनिवार्यरुपमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्नुपर्ने

Advertisement

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । 

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले शुक्रबार सबै निकायलाई सर्कुलर जारी गरेको हो । सबै तहका सरकार, मन्त्रालय, आयोग र सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गर्दै मन्त्रालयले सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गर्न पुनःस्मरण गराएको छ ।

Advertisement

निर्देशिका जारी भएपछि पनि सरकारी निकायले विभिन्न बहानामा स्वदेशी उत्पादन प्रयोग गर्न आनाकानी गर्दै आएका छन् । उनीहरुले सार्वजनिक खरीद ऐनलाई पनि बाधकको रुपमा देखाउने गरेका छन् । तर उद्योग मन्त्रालयको आजको पत्रमा भनिएको छ, ‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने छ । उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने छ ।’

यस्तै, मन्त्रालयले स्वदेशी माल सामान वा वस्तुको उत्पतिको प्रमाणपत्रको विवरण सबैले देखिने गरी प्रकाशन गर्नुपर्ने, स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनुपर्ने बताएको छ । 

Advertisement

Advertisement