नेपाल वायुसेवाका जहाजहरु बारम्बार ग्राउण्डेड हुने समस्याबारे छानविन गर्न समिति बन्छः किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका जहाजहरु बारम्बार ग्राउण्डेड हुने समस्याबारे छानविन गर्न समिति बनाउने बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निगमका जहाजहरु प्राविधिक समस्या देखाउँदै ग्राउण्डेड गर्ने समस्या देखिएको बताउँदै यस विषयमा छानविन हुने बताएका हुन् । 

Advertisement

किरातीले उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्ने पनि बताए । उनले महिलाहरुमाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी भइरहेको बताए । 

केही दिनअघि निगमको जहाजमा पाइलटहरुले विमान परिचारिकाहरुमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि आरोपीहरुलाई निलम्बन गरिएको थियो । मन्त्री किरातीले आफूले मन्त्री भएपछि पाँच वटा काम गरेको बताउँदै पशुपति विश्वविद्यालय स्थापनालगायतका १० वटा आफ्ना योजना पनि सुनाए । 

आफू आएपछि नेपाल वायुसेवाको अनलाइन टिकेटिङ सुचारु भएको, सरसफाइ र व्यवस्थापकीय सुधार भएको, हवाई सुरक्षासम्बन्धी काम गर्न निर्देशन दिएको, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन गरेको बताए । 

यस्ता छन् किरातीका योजनाहरुः 
१. पशुपती विश्वविद्यालय स्थापना,
२. पशुपती सरसफाई ३ महिने अभियान,
३. उड्डयन क्षेत्रमा महिलाहरुमाथि हुने दर्व्यवहारसम्बन्धी उजुरी लिन स्थायी यूनिट निर्माण गर्ने,
४. सरसफाई सँस्थागत गर्न निर्देशिका तयार गर्ने, ५० ५. सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने, 
६. ग्राउनडेट जहाज छानविन समिति गठन गर्ने तयारी रहेको छ,
७. हवाई उडड्यन विद्येयक अघि बढाउने,
८. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल थाल्ने,
९. भरतपुर विमानस्थल विस्तार गर्ने,
१०. नमस्ते पर्यटक सेवा विस्तार गर्ने ।

Advertisement

Advertisement