काँग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने, बागीहरुको कारवाही फुकुवा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । 

आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री बद्रि पाण्डेले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको बताए । 

Advertisement

उनले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताए । पाण्डेले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताए । 

उनले भने, ‘वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँको १ नम्बर निर्वाचन क्षेत्र हामीले पहिला नै उम्मेदवार प्रश्तुत गरिसकेका छौँ, गोविन्द भट्टराई, चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ प्रश्तुत गरिसकेका छौँ । बारामा भने त्यहाँ हामीले साझा उम्मेदवार प्रश्तुत गर्नेगरी उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रुपमा स्वीकार्ने निर्णय गरेका छौँ ।’ 

पाण्डेले थपे, ‘पार्टीको अनुशासनको कारबाहीमा पर्नुभएका २०७९ को निर्वाचन भन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरुको हकमा बारा, तनहुँ र चितवन ३ जिल्लाको हकमा अहिलेलाई पूरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ । 

२०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरुले गर्ने कामहरुलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिया पार्ने भन्ने निर्णय भएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रश्ताव पारित गरेका छौँ । राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने । अघिल्लो कार्य सम्पादन समितिमा प्रश्तुत भएका पार्टीको कार्यालय सञ्चालनको लागि प्रश्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय भएको छ ।’

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको बताए । बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ । 

Advertisement

Advertisement