फलफूलका बिरुवा ‘मल्टिग्राफ्ट’ गरेर उत्पादन गर्ने सिम्खडाको फरक शैली

Advertisement

काठमाडौं । थलीमा एसएस एग्रिकल्चर फार्म संञ्चालन गर्दै आएका कृषक प्रदीप सिम्खडाले आफ्नो नर्सरीमा नयाँ प्रविधिबाट फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् । 

उनले नर्सरीमा स्वदेशी विदेशी तीन सयभन्दा बढी प्रजातीका फलफूल उत्पादन र बिक्री गर्दै आएका छन् । सिम्खडाले नर्सरीमा ‘एउटा बोटमा विभिन्न प्रकारका फल फल्ने’ (मल्टिग्राफ्ट) नौ हजार बिरुवा उत्पादन गरिसकेको बताए । 

Advertisement

‘अबको केही वर्षमा २० हजार बिरुवा ‘मल्टिग्राफ्ट’ गर्ने लक्ष्य छ’, उनले भने । सिम्खडाले यसलाई कृषिमा नयाँ क्रान्ति भएको पनि जिकिर गरे । उनले ‘मल्टिग्राफ्ट’ आरुबखडाको एउटा बोटबाट २२ प्रकारका फल फल्ने गरेको उदाहरण दिए । बजारमा  यसलाई बिक्री गर्दा एक लाख रुपियाँ पर्ने सिम्खडाको भनाई छ । 

नौ वर्षको लामो खोज अनुसन्धानपछि आफूले  नयाँ प्रविधिबाट फलफूल उत्पादन गर्न सफल भएको भन्दै उनले यस व्यवसायमा ४० लाख रुपियाँभन्दा बढी लगानी लागिसकेको र थप लगानी जरुरी रहेको बताए ।

‘मल्टिग्राफ्ट’ गरेका बोटबाट उत्पादन भएका फलफूहरुको स्वाद अरुको भन्दा फरक हुँदैन । नर्सरीमा रहेका सुन्तलामा ३२, सुन्ताला जस्तै फल ‘माल्टा’मा ८,आँपमा ३३, स्याउमा ६, आलुबखडामा १२ फलफूलका भेराइटी उत्पादन हुनुका साथै बिरुवाहरु बिक्री हुने गरेको सिम्खडाले बताए । उनले सिजनमा मासिक चार लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताए ।

सिम्खडाले पाँच रोपनी जग्गामा बिरुवा उमार्ने, ‘ग्राफ्टिङ’ गर्ने गरेका छन भने १५ आनामा बिरुवा तथा फलफूल बिक्री गर्दै आएका छन् । उनको नर्सरीमा पाँच जनाले रोजगारी पाएका छन् । 

नर्सरीमा कोको, स्नेक फुड, ब्याल्कबेरी, म्याङ्गोस्टिन जस्ता विदेशी फलफूल पनि छन् । कोका चक्लेट उत्पादनका लागि उपयोगी मान्निछ । ग्राहकको राम्रो प्रतिक्रिया आएबाट आफूलाई हौसला मिल्दै आएको सिम्खडाले सुनाए । उनले देशका धेरै स्थानबाट ग्राहकहरु आउने गरेको बताए । सिम्खडाले एउटा बिरुवाले धेरै प्रकारका फल दिने र सानो स्थानमा पनि हुर्काउन सकिने भएकाले ‘मल्टिग्राफ’ गरिएका फलफूल बढी लोकप्रिय भएको बताए । 

Advertisement