चैतमा लक्ष्यभन्दा रु. ४० अर्ब कम राजश्व संकलन

अर्थतन्त्र झन जटिल मोडमा, सरकारी खाता रु. २१८ अर्बले ऋणात्मक

Advertisement

काठमाडौं। बिहीबार (चैत ३०) एकै दिन राज्यकोषबाट ४७ अर्ब ९१ करोड भुक्तानी जाँदा खाता दुई खर्ब १८ अर्ब ऋणात्मक हुन पुगेको छ । 

केन्द्र, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब भत्ता तथा अन्य सुविधा भुक्तानी दिँदा एकै दिन सो बराबरको रकम निकासा गएको हो । आर्थिक मन्दीका कारण राजश्व संकलनमा भारी गिरावट भइरहँदा सरकारी खाता उच्च दबाबमा छ । 

Advertisement

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको खातामा शुक्रबारसम्म कुल सात खर्ब २४ अर्ब रुपियाँ जम्मा भएको छ भने खर्च नौ खर्ब ४३ अर्ब रुपियाँ पुगेको छ । बिहीबार एकै दिन ४७ अर्ब ९१ करोड भुक्तानी जाँदा सरकारको खाता दुई खर्ब १८ अर्ब रुपियाँले ऋणात्मक हुन पुगेको हो ।  

सरकारी खातामा दबाब बढ्दै जाँदा अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा खर्च कटौती र रोक्का गरे पनि सरकारी खाता ऋणात्मक हुने क्रम रोक्किएको छैन् । 

लक्ष्य भन्दा ४० अर्ब कम उठ्यो राजस्व
गएको चैत महिनामा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन् । एक सय ४० अर्ब राजस्व उठाउने लक्ष्य लिएको सरकारले यो महिना जम्मा एक खर्ब रुपियाँ मात्रै संकलन गरेको छ । भन्सार महसुल र आन्तरिक राजस्वबाट सो बराबरको रकम जम्मा भएको हो ।

चैत महिना आयकर दाखिला गर्ने महिना पनि हो । चैतमा अग्रिम आयकरको ३० प्रतिशत दाखिला गर्नुपर्ने हुन्छ । आन्तरिक राजस्व विभागले यो महिनामा मात्रै ८३ अर्ब राजस्व असुल गर्ने लक्ष्य लिएको थियो भने भन्सार महसुलतर्फ ५७ अर्ब ७४ करोड रुपियाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्यअनुसार दुवैतर्फ राजश्व संकलन हुन सकेन् । 

आर्थिक गतिविधि सुस्त भएसँगै व्यापार व्यवसायमा गिरावट हुँदा धेरै व्यवसायीले आयकरको अग्रिम किस्ता भुक्तानी गर्न नसकेको अवस्था छ । गरेकाले पनि विगतको भन्दा कम राजश्व दाखिला गरेका छन् । 

Advertisement

Advertisement