लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

काठमाडौं। एफवान सफ्ट इन्टरनेश्नलको भगिनी संस्था ई–सेवाले अवैध कम्पनीसँग कारोबार गर्दै आएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा पर्दै आएको ई–सेवाले अवैध इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुसँग कारोबार गर्ने गरेको पाइएको हो । 

कानुनबमोजिम नेपालमा इन्टरनेट सेवा प्रवाह गर्न नेपाल दूरसञ्चार प्रधिकरणबाट अनुमति लिएर हरेक बर्ष नवीकरण गर्नुपर्छ । तर अनुमति नै नलिई सञ्चालन भएका कम्पनीसँग आइएसपीको रुपमा ई–सेवाको के हिसावले कारोबार गरिरहेको हो ? आफूहरुले बुझ्न नसकेको प्राधिकरणले बताएको छ ।

Advertisement

हालसम्म प्राधिकणबाट १२७ कम्पनीले आईएसपीको अनुमति पाएका छन् । तर ई–सेवाले भने अनुमति नलिएका कम्पनीसँग इन्टरनेटको भुक्तानी लिने गरेको छ । ई–सेवाको एप्लिकेशनमा समावेश भएका आईएसपीको सुचीमा अनुमति नलिई इन्टरनेट सेवा प्रवाह गर्ने ३८ वटा कम्पनी छन् ।

ती कम्पनीहरुलाई शुल्क तिर्न ई–सेवाले पुलको काम गर्दै आएको छ । प्राधिकरण स्रोतका अनुसार यस्ता गतिविधि रोक्न ई–सेवालाई यसअघि नै चेतावनी दिँदा पनि उनीहरुलाई नहटाएकाले थप कारबाही प्रक्रिया अघि बढाइएको छ । स्रोतले भन्यो, ‘ई–सेवाले अवैध कम्पनीसँग कारोबार गरेको भेटिएको छ । यस्ता गतिविधि तुरुन्त रोक्न हामीले आग्रह गरिसकेका छौं । कानुनबमोजिम थप कारबाही गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’

प्राधिकरणले स्पष्टीकरण सोधेपछि ई–सेवाले भने आफूले अनुमति लिएको नलिएको हेर्ने जिम्मा नभएको जवाफ दिएको छ । यता ई–सेवाका प्रतिनिधिले आफूहरुले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भए नभएको मात्रै हेर्ने हो भन्दै बाँकी कुन निकायमा दर्ता र अनुमति लिने हो ? सो कुरासँग आफूहरुलाई सरोकार नहुने तर्क गरे । 

यता प्राधिकरणले भने आईएसपीको हैसियतमा अवैध कम्पनीसँग कारोबार गर्न कुनै पनि भुक्तानी सेवा प्रदायकले नमिल्ने स्पष्ट पारेको छ । प्राधिकरणका ती अधिकारीले ई–सेवालाई आफूहरुले कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । अनुमति नलिई आईएसपीको रुपमा काम गर्ने कमपनीहरुलाई पनि कारवाही गरिने उनले बताए । 

ई–सेवाले अवैध अनलाईन बेट (जुवा) खेलाउने कम्पनीलाई सुचना बिक्री गरी एजेन्टको रुपमा काम समेत गरिरहेको छ । यो कम्पनीको कारोबारमा शंका लागेपछि ठूला करदाता कार्यालयले छानविन अघि बढाउनुको साथै उसको गत आर्थिक बर्षको वित्तिय विवरणको पूर्ण परीक्षण (फुल अडिट) गरिरहेको छ । 

ई–सेवासँग कारोबार गर्ने बिना अनुमति सञ्चालित आईएसपीहरुः
दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिई इन्टरनेट सेवा तथा ईमेल सेवा प्रदान गर्ने ३८ कम्पनीलाई ई–सेवाले रकम संकलन गरिदिँदै आएको छ । यस्ता अवैध कम्पनीहरुमा अग्नि केवल नेटवर्क, बाबा केबल टिभी, बागेश्वरी केवल टिभी, विराट केवल, बिके केबल नेटवर्क, बि लिंक इन्फर्मेशन एण्ड कम्युनिकेसन, चन्द्रागिरी डिजिटल सर्भिस्, फिकल केवल टिभी नेट, ग्लोवल केवल छन्।

यसैगरी थ्रिजी भिजन, ह्याप्पी नेट, हरिवन मिडिया, जागृति नेश्नल केवल नेट, जानकी नेट लिंक, कमला डिजिटल, केवल कन्काई केवल नेट, खिस्रेश्वर नेट, मनकामना नेटवर्क, मेघाबाइट फाइबर नेट, मर्चेन्टाइल कम्युनिकेशन, माउन्ट लिंक कम्युनिकेसन, नागरिक केवल, नेटम्याक्स टेक्नोलोजी छन्।

यस्तै, नेट म्याक्स नेक्नोलोजी, न्यू बुद्ध केवल, प्रभु नेट, रवि केवल, राइट साइड केवल नेट, रोयल नेटवर्क, आरआर केवल, शिवपुर स्पेस केवल, सुर्खेत केवल छन्।  यी कम्पनीहरुले अन्य कम्पनीसँग मिलेर सेवा प्रदान गरिरहेको देखिन्छ । लाइसेन्स बिना अर्कोसँग मिलेर इन्टरनेट सेवाको काम गर्ने र त्यस्ता कम्पनीको लागि रकम सँकलन गर्न सहयोगी बन्ने दुवै अवैध कार्य भएकाले आफूहरुलाई नियन्त्रण र कारवाही गर्न लागेको प्राधिकरणको भनाई छ । 

यो पनि पढ्नुहोस्ः

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

Advertisement