बजेट अधिवेशन वैशाख २४ गते बस्ने, एसीसी क्रिकेट विजेतहरुलाई ६–६ लाख दिने निर्णय

Advertisement

काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन् । त्यस्तै सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपियाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपियाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

त्यस्तै कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको शर्माले बताइन् । बैठकले कोशीटप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा विस्थापितहरुको सम्बन्धमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनः गठन गरी ३ महिना म्याद थप गर्ने गरेको छ । 

विज्ञापन नियमावलीमा संशोधनको काम अघि बढेको पनि शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘विज्ञापन ऐनमा भएको व्यवस्था अनुरुप एकद्वार प्रणाली र समानुपातिक विज्ञापनको जुन विषय छ, कतिपय कुराहरु कार्यान्वयन भइरहेका तर त्यो हाम्रो नियमावलीमा व्यवस्था नभएका विषय पनि भएको हुनाले हाम्रो विज्ञापन ऐन अन्तर्गतको नियमावली बनाउनको निम्ति प्रक्रिया मिलाएर यसलाई अगाडी बढाउने भन्ने निर्णय पनि भएको छ ।’

Advertisement