राष्ट्रिय औद्योगिक प्रर्दशनी फागुन ४ देखि

Advertisement

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आउँदो फागुन ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । 

लघु, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने अभिप्रायले प्रर्दशनी आयोजना गर्न लागिएको समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले जानकारी दिएका छन् । 

Advertisement

प्रर्दशनीमा उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत बजारीकरण गर्न कोशेढुङगा सावित हुने उनको भनाई छ । 

नेपालले औद्योगिक विकासमा गरेका प्रगतिका साथै स्वदेशमा स्थापित उद्योगमा जडित प्रविधि, नेपालमा उत्पादित वस्तु तथा सेवा र नेपालमा विकसित प्रविधिको बारेमा प्रदर्शनीमा जानकारी दिनुका साथै सफल उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले समितिले २०४२ सालदेखि प्रर्दशनी आयोजना गरिदै आएको छ ।

प्रदर्शनीमा उद्यमीले तयार पारेका सामानलाई बजारीकरण गर्न तीन सय भन्दा बढी स्टल रहने छन् । प्रदर्शनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादन, घरेलु तथा साना उद्योग स्थापना परम्परागत तथा आधुनिक उपयुक्त प्रविधिको प्रदर्शनी, छाला जुत्ता तथा छालाजन्य वस्तु, बौद्धिक सम्पति तथा उद्योग व्यवसाय प्रवद्र्धन बारे सम्बन्धित निकाय र उद्यमीबीच अन्तरक्रिया हुनेछ । 

Advertisement

Advertisement