सगरमाथा आरोहणका ७० वर्षः कस्तो रह्यो यात्रा ?

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ को मे २९ मा गरेका थिए । 

पर्यटन विभागको तथ्यांकअनुसार सन् १९५३ देखि २०२२ को वसन्त ऋतुसम्म नेपालमा रहेका आठ वटा आठ हजार मिटर अग्ला हिमाल चढ्नेको संख्या १२ हजार ९९५ पुगेको छ । २०२३ को वसन्त ऋतुमा सगरमाथा आरोहण गरेको तथ्यांक आउन बाँकी छ । 

Advertisement

नेपालमा रहेका हिमालमध्ये सबैभन्दा धेरैले आरोहण गरेको हिमाल सगरमाथा नै हो । यो हिमालमा २०२२ को वसन्त ऋतुसम्म सात हजार ६२१ जनाले आरोहण गरेका छन् । यस वसन्त ऋतुमा सगरमाथाको लागि मात्रै ४७ टिम र ४७८ जनाले आरोहणको लागि अनुमति लिएका थिए । यीमध्ये ३७६ जना पुरुष र १०२ जना महिला छन् । सगरमाथा चढ्नेहरुको यो संख्या अहिलेसम्मकै धेरै हो । 

यो वसन्त ऋतुमा ७६ करोड ५७ लाख ५८ हजार तीन रुपियाँ सरकारलाई रोयल्टी संकलन भएको छ । यस पटक नेपालबाट सगरमाथा चढ्नेको संख्या धेरै हुनुमा चीनतर्फ आरोहण खुल्ला नहुनु पनि हो । चीनतर्फ खुल्ला हुँदा पनि नेपालबाट आरोहण गर्नेहरुको संख्या बढाउँदै लैजान नेपालले पूर्वाधार, सेवा प्रवाह र सुरक्षा प्रणालीमा सुधार गर्दै लैजानुपर्ने देखिन्छ ।  

त्यस्तै, नेपालले साहसिक पर्यटनलाई विकास गर्ने क्रममा नेपालका अन्य हिमालहरु पनि आरोहणका लागि खुल्ला गर्दै जानुपर्ने जरुरी छ । साथै, यस्तो जोखिमपूर्ण र साहसिक पदयात्रा तथा आरोहणका लागि स्वदेशी र विदेशीहरु आकर्षित हुँदै गर्दा यसलाई कसरी सुरक्षित बनाउने, उद्दारलाई कसरी छिटो छरितो बनाउने ? भन्ने कुरा पनि चुनौति बनेको छ । यस बर्ष वन्सत ऋतृमा मात्रै सगरमाथा आरोहण गर्न गएकामध्ये १३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । 

यस बर्ष आरोहण अनुमति लिइएका हिमालहरुः
यस वसन्त ऋतुका लागि सगरमाथासहित २८ वटा हिमाल आरोहण गर्न आरोहीहरुले अनुमति लिएका हुन् । आरोहीहरुले सुर्मा सरोवर नथ (६,५२३ मि), अन्नपूर्ण– १ (८,०९१ मि), पाङग्री गोलदुम्बा (६,६२० मि), मनास्लु (८,१६३ मि), थोराङ पिक (६,१४४ मि), बरुण त्से (७,१२९ मि), लोत्से (८,५१६ मि), नोप्से (७,८५५ मि), हिमलुङ हिमाल (७,१२६ मि), गन्चेङपो (६,३७८ मि), धौलागिरि (८,१६७ मि), थापा पिक (६,०१२ मि), जाक्या पिक (६,४७३ मिटर), आमा दब्लम (६,८१४ मिटर), मकालु (८,४६३ मिटर), अरनिको चुली (६,०३४ मिटर), खातुङ (६,४८४ मिटर), तु त्से (६,७५८ मिटर), पुमोरी (७,१३८ मिटर), कञ्चनजंगा (८,५८६ मिटर), काब्रु (७,३१८ मिटर), तेङगी रागी ताउ (अगोले) (६,९३८ मिटर), रत्न चुली (७,०३५ मि), चाङवाथाङ (६,१२५ मि), चण्डी हिमाल (६,०९६ मि), होंगु ÷सुरा पीक (६,७६४ मि), भृकुटी (६,४७६ मि) हिमाल आरोहण अनुमति लिएका छन् ।
सन् २०२२ को वसन्त ऋतुसम्म कञ्चनजंगा चढ्ने ५५१, ल्होत्से चढ्ने एक हजार २१, मकालु चढ्ने ६७३, धौलागिरी चढ्ने ६३८, अन्नपूर्ण–१ चढ्ने ४०७, चो ओयु चढ्ने १४, मनास्लु चढ्ने दुई हजार ७१६ रहेका छन् । 
यससँगै यस वसन्त ऋतृका लागि सगरमाथा आरोहण करिब अन्त्यमा पुगेको र यस वर्षको वसन्त ऋतृमा सगरमाथा आरोहण राम्रो भएको एक्स्पडिशन कम्पनीहरु बताउँछन् । 

सगरमाथा आरोहण गरी कीर्तिमानः १९५३ देखि २०२१
– १९७५ को मे १६ मा सगरमाथाको आरोहण गरी जुनको ताबेई सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला ।
– पिटर हेबेलर र इटालीका रिनहोल्ड मेसनरले मे ८, १९७८ मा पहिलो पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेका थिए । 
– फेब्रुअरी १७, १९८० मा पोल्याण्डका क्रजिस्टोफ विलिक्कीले पहिलो पटक विन्टर (जाडो याम)मा सफल आरोहण गरेका थिए । 
– अक्टोबर १४, १९८८ मा न्यूजिल्याण्डको लिडिया ब्रेडीले अक्सिजन बिना आरोहण गर्ने पहिलो महिला थिइन् । 
– अक्टोबर ७, १९९० मा स्लोभेनियाका मिस्टर एन्ड्रेज र मारिजा स्ट्रेम्फेल्ज शिखरमा पुग्ने पहिलो विवाहित जोडी बनेका थिए । मारिजा सगरमाथा आरोहण गर्ने पहिलो स्लोभेनियाली महिला पनि हुन् । 
– बुबा र छोरा जेब नोएल रोचे र उनको छोरा रोचे बर्ट्रान्ड अका जेबुलोनलेसँगै सगरमाथा चुम्ने पहिलो बुबा र छोरा बनेको थिए ।
– सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा ।
– अमेरिकाका थोमस ह्वाइटेकर (एक खुट्टा कृत्रिम) सगरमाथा आरोहण गर्ने पहिलो अपांगता हुन् ।
– बाबु छिरी शेर्पा सगरमाथाको शिखरमा सुत्ने पहिलो र एकमात्र आरोही बने । उनले सगरमाथाको चुचुरोमा अक्सिजनविना २१ घण्टाभन्दा बढी समय बिताएका थिए । उनले मे २१, २००० मा सबैभन्दा छिटो १६ घण्टा ५६ मिनेटको कीर्तिमान बनाए । उनले सगरमाथाको १० पटक आरोहण गर्न सफल भएका थिए । 
– मे १८, २००० मा ल्हाक्पा शेर्पा सगरमाथाको सफलतापूर्वक आरोहण गर्ने दोस्रो नेपाली महिला हुन् । 
– टेम्बा छिरिङ शेर्पाले (१६ वर्ष) मे २३, २००१ मा उत्तर तर्फबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो कान्छो पर्वतारोही हुन् । 
– मे २५, २००१ मा अमेरिकाका एरिक वेहेनमेयर सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बने । 
– तेम्बा छेरी शेर्पा मे २३, २००१ मा, १६ वर्षको उमेरमा सगरमाथा चढ्ने सबैभन्दा कान्छो व्यक्ति बने । 
– पेम्बा डोमा शेर्पा दुवैतर्फबाट सगरमाथाको सफल आरोहण गर्ने तेस्रो नेपाली महिला हुन् । 
– मे २२, २००३ नेपालबाट कान्तिपुर दैनिकका संवाददाता आङछिरिङ शेर्पा सफलतापूर्वक आरोहण गर्र्नेे पहिलो नेपाली पत्रकार हुन् । 
– मे २६, २००३ लाक्पा गेलु शेर्पाले सफलतापूर्वक शिखरको आरोहण गरी सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान राखे । उनले १० घण्टा ५६ मिनेट ४६ सेकेन्डमा आरोहण गरेका थिए ।
– लाक्पा गेलु शेर्पा, दा नुरु शेर्पा र जाङ्बु शेर्पा, तीन भाइहरूले मे २६, २००३ एकै दिनमा सगरमाथाको सफल आरोहण गरेका थिए । 
– पेम्बा दोर्जी शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड कायम गरेका हुन् । उनले सगरमाथा आधार शिविरदेखि चुचुरो सम्ममा ८ घण्टा १० मिनेटमा मे २१, २००४ पुगेका थिए ।
– मोनी मुककेपाटी (२४ वर्ष) र पेम दोर्जे (२३ वर्ष) ले सँगै मे ३०, २००५ मा सगरमाथाको आरोहण गरी चुचुरोमा विवाह गरेका थिए ।
– मे २४, २००६ मा लाक्पा थार्के शेर्पा (२५ वर्ष) ले सगरमाथाको आरोहण गरे र आफ्नो शरिरको माथिल्लो भाग खुल्ला राखि माइनस ४० डिग्री सेन्टिग्रेडमा ३ मिनेट आराम गर ।
– मानव इतिहासमा पहिलो पटक अप्पा शेर्पा र लाक्पा गेलु शेर्पाले सन् २००७ मे १६ मा बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथाको आधार सिबिरबाट’ नामक पुस्तकको संयुक्त विमोचन गरेका थिए । पुस्तकका लेखक प्रतिक ढकाल र पुस्तकको प्रकाशित मकालु पब्लिकेसन ।
– कामी शेर्पा, सोनाम शेर्पा, लाक्पा गेल्जे शेर्पा, द चहम्बा शेर्पाले सगरमाथाको चुचुरोमा ‘सेती पानी काली पानी’ (सेती र काली) नामक अर्को पुस्तक मे १६, २००७ का दिन बिहान ९ः४५ बजे विमोचन गरेका थिए ।
– अप्पा शेर्पा (४८ वर्ष) ले मे २२, २००८ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए । 
– मे ५, २००८ म्याग्दी जिल्ला निवासी मीनबहादुर शेरचनले ७६ वर्षको उमेरमा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । उनी सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बने । 
– पहिलो समावेशी महिला सगरमाथा अभियान २००८ का सबै सदस्यहरूले वसन्त २००८ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । 
– मे २२, २००८ का दिन, १३५ जना आरोहीहरू सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा बढी व्यक्ति पुग्ने रेकर्ड थियो बनेको थियो । 
– आप्पा शेर्पाले मे ११, २०१० मा २१ औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए । 
– मे २२, २३, २०१९ सगरमाथाको चुचुरोमा पुग्ने कुल २२३ र २१२ आरोही उच्चतम र दोस्रो ठूलो संख्यामा आरोहीको रूपमा रेकर्ड बनेको थियो । 
– निर्मल पुर्जाले विश्वका सबै १४ ८ हजार मिटरभन्दा अग्लो हिमालहरु ५ महिना ६ दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो समयमा आरोहण गर्ने व्यक्ति बने । 
– मिङमा ग्याबु शेर्पा सबै ८ हजार मिटर अग्ला हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही भने । 
– डिसेम्बर ८, २०२० मा, नेपालका परराष्ट्रमन्त्री र चीनका विदेशमन्त्रीले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर घोषणा गरेका थिए । 

२०२३ को कीर्तिमानः
– कामीरिता शेर्पाद्धारा सगरमाथाको २८ औं पटक सफलतापूर्वक आरोहण
– निमा रिन्जी शेर्पाद्धारा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० घण्टाभित्र सफल आरोहण
– कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी भूतपूर्व गोरखा सैनिक हरि बुढामगरद्धारा विश्व रेकर्ड कायम
– सोह्र वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण
– नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दास सगरमाथा आरोहण गर्ने पहिलो नेपाली प्रहरी अधिकृत बन्न सफल
– पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्सेको आरोहण गर्ने पहिलो पाकिस्तानी महिला बन्न सफल
– अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बन्न सफल

Advertisement

Advertisement