आमजनताले चढ्ने सस्ता गाडीमा कर बढाउनु र महंगामा घटाउनु गलत नै होः ध्रुव थापा

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आफूहरुले माग गरेकोभन्दा विपरित बजेट आएको बताएका छन् । 

सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट औसत खालको रहेको प्रतिक्रिया दिँदै उनले साना गाडीहरुमा कर बढाउनु र महंगामा घटाउनु गलत भएको स्वीकार गरे । 

Advertisement

थापाले भने, ‘हामीले कर नबढाउन सल्लाह दिएका थियौं । ठूला गाडीमा कर घटाएको छ । आम सर्वसाधारणले चढ्ने गाडीमा कर बढाइएको छ यो विषयमा आपत्ति पनि जनाइएको अवस्था छ । यो मिलेन अल्ली ।’  

नाडाले बजेट आउनु अगाडी आममानिसले चढ्ने गाडीमा कर कम गर्न सुझाव दिएकोमा उल्टै बढेर बजेट आएकोमा आफूहरुलाई आश्चर्य लागेको उनको भनाई छ । थापाले जनचासोमा रहेका एसेम्बिङ उद्योगमा भने बजेटले कुनै हेरफेर गरेको छैन् । त्यस्ता उद्योग बढाउन पहल गर्नुपर्नेमा बजेट मौन बस्नु त्यति ठिक नभएको उनको भनाई छ । 

विद्युतीय गाडीको लागि अहिलेको बजेटले गरेको व्यवस्था सोचेअनुरुप नभएको अध्यक्ष थापाले बताए । उनले भने, ‘अबको बजार विद्युतीय सवारीमा पनि जोड दिनुपर्ने बजार हो । सरकारले त्यसमा केही पनि चासो नदिएको जस्तो देखिएको छ । अन्य करका कुराहरु पनि सवारीसँग निकै महत्वपूर्ण मानिने विषय हुन् ।’ 

‘इन्ट्री लेवल’का गाडीमा कर बढ्नु ग्राहक र व्यवसायी दुवैलाई राम्रो कुरा नभएको थापाले बताए । उनले भने, ‘कर बढेपछि महंगोमा गाडी बिक्दैन । गाडी नबिक्नु भनेको एउटा पाटोबाट व्यवसायीले बेच्न नसक्नु हो । अर्को पाटो ग्राहकले किन्न नसक्नु पनि हो । यसरी गाडीको किनबेचमा नै असर पर्नेगरी बजेट निर्माण हुनु पक्कै पनि सुखद कुरा होइन् । बरु ठूला गाडीमा लाग्दै आएको कर नघटाएको भए पनि हुन्थ्यो । सर्वसाधारणले अटोमोवाइलमा जोडिन गरेको प्रयासलाई सरकार आफैले कडाई गरेको अवस्था छ ।’ 

Advertisement

Advertisement