एमडीएमएस प्रभावकारीरुपमा लागू गर्न व्यापारी, प्रहरी, नियामक र राजश्व प्रशासन एक मत

Advertisement

काठमाडौं । मोवाइलको अवैध चोरी पैठारी रोक्न र मोवाइलको सुरक्षाका लागि ल्याइएको मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रभावकारी रुपमा लागू गर्न व्यापारी, प्रहरी, राजश्व प्रशासन र नियमक एक मत देखिएका छन् । 

आइतबार आयोजित कार्यक्रममा एमडीएमएस लागू गर्ने पक्षमा एक देखिएका हुन् । मोवाइल व्यापारीहरुले भने एमडीएमएस लागू गर्ने कुरामा जनतामा गलत प्रचार गर्ने र भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका थिए । 

Advertisement

यो सिस्टम लागू भएमा मोवाइल वार्षिक चार अर्ब रुपियाँ थप राजश्व बढ्ने अनुमान गरिएको छ । मोबाइल आयातकर्ताहरुले एमडीएमएस प्रणाली लागू नहुँदा अर्बौं रुपियाँ बराबरका मोबाइलहरु अवैध रुपमा नेपाल आएको र जसबाट राज्यले चार अर्ब बराबरको राजश्व बार्षिकरुपमा गुमाउने गरेकोले सरकारले तत्काल प्रभावकारी रुपमा यो सिस्टम लागू गर्नुपर्ने बताए । 

मोबाईल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडीएमएस प्रणालीका कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको बताए । उनले चोरीका रिफर्बिस अनि कम गुणस्तरका फोनहरु नभित्रने हुँदा उपभोक्ता ठगिनु नपर्ने बताए । 

मल्होत्राले अवैध मोबाइल आयातले वास्तविक मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको बताए । उनले प्रणाली लागू भएसँगै मुलुकमा अवैध मोबाइलको आयात घट्ने जानकारी दिए । मल्होत्राले जेठ १ गतेपछि एमडीएमएसका कारण व्यवसाय तङ्ग्रिन लागेको बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोनहरु नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलहरुको नियन्त्रण गर्नको लागि एमडीएमएस प्रणाली लागू गरिएको बताए । 

उनले प्राधिकरणले मोबाइल एमडिएमएस प्रणाली लागू गरेर राजश्व उठाउन नखोजेको भन्दै कालोबजारीलाई नियन्त्रण गर्न खोजेको बताए । उनले दूरसञ्चार प्राधिकरण कालोबजारीको बिरुद्ध प्रणाली लागू गर्दा व्यवसायीहरुको पक्षमा प्राधिकरण देखिएको भन्दै अन्यथा नबुझ्न आग्रह गरे । 

खनालले सरकारले कुनै निश्चित व्यवसायीहरुलाई फाइदा पुग्नेगरी  एमडिएमएस प्रणाली ल्यायो भन्ने प्रचार गलत भएको बताए । उनले भन्सार विभागसँग सहकार्य गरेर प्राधिकरणको प्राविधिक सेवा समेत प्रदान गरेको बताए । 

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडीएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नसक्ने प्रविधि ल्याउन लागेको बताए । उनले विदेशबाट ल्याएका मोबाइलको भन्सार प्रक्रिया सरल र तत्काल गर्नको लागि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा जनशक्ति समेत थप गरी छुटै हेल्प डेक्सको व्यवस्था गरिएको बताए । 

खड्काले एमडीएमएस प्रणाली लागू कर संकलन गर्ने मात्रै नभएर मोबाइलको प्रयोग अपराधिक क्रियाकलाप हुने भएकाले मोबाइलको प्रयोग सुरक्षित बनाउनको लागि लागू भएको बताए । 

Advertisement