त्रिविसहित चार भन्सार कार्यालय प्रमुखको सरुवा हुँदै, को को छन् अर्थमन्त्रीको निशानामा ?

Advertisement

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार कार्यालयका प्रमुखहरुको कामको मूल्यांकन सुरु गरेको छ । मन्त्रालयले खराब रेकर्ड भएका कर्मचारीहरुलाई सरुवा गर्ने तयारी गरेको छ ।

सरुवा हुने सूचीको अग्र स्थानमा वीरगञ्ज सुख्खा बन्दरगाहका भन्सार प्रमुख जयबहादूर भण्डारी छन्। भण्डारीले भन्सार सन्दर्भसूचीभन्दा कम मूल्यमा सामान जाँचपास गरिरहेको आरोप लागेको छ । उनले जाँचपास गर्न ठिक्क पारेका सामानमा विभागले हस्तक्षेप गरी रकम थप गर्न लगाएपछि कार्यालय नै छाडेर घर बिदामा बसेका छन् ।

Advertisement

स्रोतका अनुसार केही व्यवसायीका सामान जाँचपास गराइदिने भण्डारीले आश्वासन दिएका थिए थिए । भण्डारीको योजना विफल भएपछि उनी कार्यालय नै छाडेर बिदामा बसेका अर्थ मन्त्रालय स्रोतको भनाई छ । उनको स्थानमा कसलाई पठाउने ? भन्ने बारे अर्थमन्त्री प्रकाशशरण महतले छलफल सुरु गरेका छन् ।

सरुवाको दोस्रो लिष्टमा भैरहवा भन्सार कार्यालयका मनिराम पौडेल छन्। पौडेल तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारी भैरहवा पुगेका उनी दोस्रो पटक उक्त कार्यालयको प्रमुख भएका हुन् ।

पौडेल भैरहवा प्रमुख भएपछि अपेक्षित काम नभएको अर्थमन्त्री महत र उनका टिमको मूल्यांकन छ । भैरहवा भन्सार कार्यालयबाट सामान बिनाकै ट्रकहरु जाँचपास भैरहेको आरोप पौडेलमाथि लागेको छ । मन्त्रालयका एक कर्मचारीले भने, ‘भैरहवामा विवादित भनिएका व्यवसायीहरु धमाधम काम गरिरहेका छन् । कार्यालयको मिलेमतोमा नक्कली प्रज्ञापन पत्र बोकेर निस्किएका गाडी भेटिएपछि कार्यलयको कामप्रति झन् शंका बढेको हो ।’

अर्थमन्त्री महतले भैरहवा भन्सार कार्यालयको नाम नै तोकेर कार्यप्रगति न्यून भएकाले प्रमुखलाई नै बोलाएर मौखिक स्पष्टीकरण सोध्ने बताएका थिए।

सरुवाको तेस्रो नम्बरमा सहसचिव अरुण पोख्रेल रहेका छन्। उनी हाल त्रिभुवन विभानस्थल भन्सार कार्यालयमा प्रमुख छन् । पोख्रेलको कार्यक्षमता पनि कमजोर रहेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । त्रिवि भन्सार कार्यालयबाट जाँचपास भएका २० भन्दा बढी गाडीहरु राजश्व अनुसन्धान विभागले समातेर थप राजस्व दाखिला गर्न लगाइसकेको छ ।

भन्सारमा सहज काम गर्न नपाएको भन्दै पोख्रेल प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न पुगेका थिए। पछिल्लो समय उनले सरुवा माग गर्दै आएका छन् । पछिल्लो समय त्रिवि भन्सार कार्यालयबाट सुन तस्करहरुले नयाँ नयाँ प्रयोग गर्दै आएका छन् । तर प्रमुख पोख्रेल भने नियन्त्रणमा कमजोर देखिँदै आएका छन् । भन्सारसम्वन्धी एक गोष्ठीमा मन्त्री महतले त्रिवि भन्सार कार्यालयको नाम नै तोकेर गडबडी नगर्न चेतावनी दिएका थिए।  

यसैगरी, धेरै गुनासो आउने भन्सार कार्यालयमध्ये कृष्णनगर भन्सार कार्यालय पनि पर्ने गरेको छ । यो कार्यालयका प्रमुखमा गगन बहादूर विश्वकर्मा रहेका छन् । उनको पनि सरुवा गर्ने तयारी गरिएको छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले भन्सारमा सरुवा गर्नुपर्ने सात जना प्रमुखहरुको सूची तयार गरेका थिए । जसमध्ये विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख तारा सापकोटा र रसुवा भन्सार कार्यालयका नारायण भण्डारीको सरुवा भइसकेको छ । यी सातै जना प्रमुखहरु पूर्वअर्थमन्त्री जनार्दन शर्माको पालामा भन्सार कार्यालयमा गएका थिए।  

Advertisement

Advertisement