पर्यटक बसहरुलाई छैन् कतै पार्किङ, जमलपछि सोह्रखुट्टेबाट पनि लखेट्न आटेः थापा

Advertisement

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन पूर्वाधारको कुरा उठाइरहँदा पर्यटक बसहरुका लागि बसपार्क पनि ठूलो समस्या बन्दै आएको छ । ट्राभल एण्ड टुर अपरेटरहरुले काठमाडौंसहित मुख्य पर्यटकीय जिल्लाहरुमा स्थायी पर्यटक बसपार्कको आवाज उठाउन थालेको एक दशकभन्दा बढी हुँदा पनि सरकारले सुनुवाई गरेको छैन् । 

अहिले काठमाडौंमा सोह्रखुट्टैमा राखिँदै आएको पर्यटक बसहरु काठमाडौं महानगरपालिकाले त्यहाँबाट पनि हटाउने तयारी गरेको छ । यसअघि जमलमा पर्यटक बसहरु पार्किङ गर्ने गरिएकोमा त्यहाँबाट हटाएर सोह्रखुट्टे पुर्याइएको थियो । त्यहाँबाट पनि हटाउने कुरा आएपछि ट्राभल एण्ड टुर व्यवसायीहरुको संस्था ‘नाटा’ (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स)ले आपत्ति जनाएको छ । 

Advertisement

संस्थाका अध्यक्ष रमेश थापाले पर्यटक बसहरुको लागि बसपार्कको व्यवस्था गर्न केन्द्रको सरकार र स्थानीय तहसम्मलाई आग्रह गर्दै आए पनि कुनै सुनुवाई नभएको गुनासो गरे । उनले भने, ‘लामो समयदेखि ट्राभल र टुर अपरेटरहरुले सरकार, पालिका, वडादेखि सम्वन्धित निकायसम्मलाई बारम्बार पर्यटक बसपार्कको कुरा गर्दै आएको हो । समस्या राखेपछि समाधान होला भन्यो, झन दुःख दिने, एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काम हुँदै आएको छ । 

काठमाडौंबाहिर पोखरा, चितवन, लुम्बिनीलगायतका ठाउँमा जाने बसहरुलाई पनि पार्किङ सुविधा सहज नरहेको थापाले बताए । उनले उनले थपे, ‘सरकार पर्यटक बढाउने भन्छ । यति पर्यटक भित्रिए भन्छ । पर्यटक धेरै ल्याउन के के पूर्वाधार चाहिन्छ ? त्यति ध्यानै दिँदैन् । जसरी हुन्छ कर अशुल्ने कुरामा मात्रै सरकारको ध्यान छ । पर्यटक धेरै आए भने त कर धेरै त्यसै आइहाल्छ नि । हामीलाई धेरै निचोर्नै पर्दैन् ।’ 

अध्यक्ष थापाले १२ बर्षअघि नै नाट्टाले पर्यटक बसपार्क निर्माणको प्रस्ताव राखेको भए पनि अहिलेसम्म सरकारले त्यसबारे कुनै सम्बोधन नगरेको बताए । पर्यटकीय क्षेत्र नजिक बस पार्किङ गर्ने सुविधा नहुँदा व्यवसायीले मात्रै नभएर पर्यटकहरुले समेत सास्ती भोग्नुपर्ने अवस्था रहेको उनले बताए । 

थापाले भने, ‘पहिला पर्यटक बस जमलबाट जाने गरेको थियो । त्यहाँ भएन भनेर जमलबाट लखेटेर सोह्रखुट्टे पुर्यायो । अहिले सोह्रखुट्टे पनि भएन् भन्दैछन् । त्यहाँबाट पनि हटाउँदै छ । पर्यटक बसको पिकअप ड्रपको लागि पार्किङ छैन् । पर्यटकीय साइटहरु दरबार स्क्वायर, बौद्धनाथ स्तुपा जस्ता ठाउँमा ठाउँहरुमा बसहरुलाई पार्किङको ठाउँ छैन् । गयो भने ट्राफिक प्रहरीले गाडी रोक्न दिँदैन् । पार्किङ नभएपछि पर्यटकलाई कसरी लगेर देखाउने ? तीन किलोमिटर वरै वा पर पुगेर बस रोकेर सधैं चल्दैन् ।’

काठमाडौंमा चक्रपथभित्र कुनै सरकारी जग्गा वा अन्य कुनै ठाउँ पार्किङको लागि उपलब्ध गराइदिए सहज हुने थापाको भनाई छ । उनले ठाउँ दिए व्यवसायीहरु आफैले मिलाएर सो ठाउँ प्रयोगमा ल्याउने उनको भनाई छ । त्यसका लागि भाडा पनि तिर्न आफूहरु तयार रहेको थापाले बताए । 

Advertisement

Advertisement