बालेनको कारवाहीपछि उड्डयन प्राधिकरणले जिल्ला प्रशासनसँग ‘सुरक्षा र क्षतिपूर्ति’ माग्यो

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाले आफूहरुमाथि गरेको कारवाहीप्रति आपत्ति जनाएको छ । प्राधिकरणले सिनामंगलमा आफ्नो केन्द्रीय कार्यालय भवन करिव निर्माण सम्पन्न गरिसकेको छ । 

निर्माणअघि नै नक्सा पास गर्नुपर्नेमा नगरी बनाइएका कारण महानगरको टोलीले आन्तरिक सजावटको काम रोक्न निर्देशन दिएको थियो । तर प्राधिकरणले आफूहरुले नक्सा पासका लागि कागजाज पेश गरिसकेको अवस्थामा महानगर प्रहरीहरु आएर धम्कीपूर्ण भाषा प्रयोग गरी कामदारहरुलाई काम गर्न नदिएको र निर्माण सामग्रीसमेत लिएर गएको गुनासो गरेको छ । 

Advertisement

त्यस्तै, प्राधिकरणले तिनकुने गैरीगाउँको एयर कार्गो कम्प्लेक्सको अगाडिपट्टि खुल्ला राखेको भन्दै निर्माण सामग्री महानगरको टोलीले लगेकोमा पनि आपत्ति जनाएको छ । प्राधिकरणको नाममा रहेको उक्त जग्गाको पूर्व, उत्तर र दक्षिणतर्फ पहिले नै फेन्सिङ लगाइसकेको र पश्चिमतर्फ मात्रै खुल्ला रहेको, सो ठाउँमा पनि फेन्सिङ लगाउने काम भइरहेको बेला महानगरको सुरक्षाकर्मी आएर वेल्डिङ मेशिनलगायतका सामग्री लगिदिएको जनाएको छ । 

उक्त जग्गा संरक्षण गर्ने सिलसिलामा खुल्ला रहेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्पन्न भईसके पछि उक्त संरचना पूरै भत्काई तारबार तथा फलामे पोष्ट समेत काटी नगर प्रहरीले उठाई लगेको भन्दै प्राधिकरणले महानगरले एकतर्फी र बलजफती रुपमा गरिएको काम रोक्ने काम गरेको बताएको छ । 

प्राधिकरणले जग्गा संरक्षण कार्यको लागि सुरक्षा व्यवस्था मिलाइदिन र नष्ट गरिएको संरचनाको क्षतिपूर्ति समेत उपलब्ध गराईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेको छ । 

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह आएपछि अनधिकृत संरचना भत्काउनेदेखि नक्सा पास नगरी भवन बनाउने, नक्साविपरित संरचना बनाउने जस्ता कार्यलाई निरुत्साहित गरेका छन् । 

Advertisement