मास्टर सेफ सन्तोष शाहको ‘मिथिला थाली’ असार ६ गतेदेखि औपचारिक सञ्चालनमा आउने

Advertisement

काठमाडौं । मास्टर सेफ सन्तोष शाहको जनकपुरमा विशेष सुविधासहितको रेष्टुरेन्ट ‘मिथिला थाली’ यही आउँदो असार ६ देखि औपचारिक सञ्चालनमा आउने भएको छ । 

बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष शाह’ नामक रेष्टुरेन्ट सञ्चालनका लागि तयार गरिरहेको भौतिक संरचना पूरा भएको छ । 

Advertisement

रेष्टुरेन्ट सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको शाहले कर्पोरेट नेपाललाई बताए । उनको आफ्नै लगानीमा निर्माण भएको ‘मिथिला थाली’मा सात वटा रुम, लाइभ काउन्टर रहको छ । शाहले भने, ‘जनकपुरमा धेरैजसोको एउटा गुनासो थियो, खाने ठाउँ राम्रो छैन् । बस्ने ठाउँ छैन् । मेरो लागि पनि त्यही थियो । जनकपुर गएको बेला पर्यटकहरुले मिठो खाना आउन । मेरो घर जस्तो मिठो खाना खाउन भन्ने मनसायले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हुँ ।’ 

दुई सय ५०  रुपियाँमा १८ वटा मिथिला खाना पाइने बताउँदै शाहले थपे, ‘थाली बेचेबापत एक रुपियाँदेखि तीन रुपियाँ स्थानीय एक अनाथालयलाई दिनेछौं । रेष्टुरेन्टका खानेकुरामा जति पनि मरमसला प्रयोग हुन्छ, त्यो हाम्रै दिदीबहिनी, आमाले घरमा खानामा जे कुराहरु प्रयोग गर्नुहुन्छ, त्यही नै प्रयोग गर्ने हो ।’ 

यस्तो रेस्टुरेन्ट नेपालका विभिन्न ठाउँमा सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । एउटा कोठा भने ‘सेफ सन्तोष शाह’ भनेर छुट्टै रहने शाहले बताए । त्यो कोठामा उनीसँग सम्वन्धित कुराहरु हुनेछ । उक्त कोठामा पर्यटकहरु बस्न सक्ने र रमाइलो गर्न सक्नेछन् । 

एउटा भवनमा रेस्टुरेन्ट र ब्याङ्क्वेट हल तथा अर्कोमा कोठाहरु छन् । रेस्टुरेन्टमा मिथिला आर्टहरु राखिएको छ । मिथिला थालीमा १८० जना अटाउने क्षमता छ । झण्डै चार कट्ठा जग्गामा निर्माण गरिएको रेष्टुरेन्टभित्रको ब्याङ्क्वेट हल (भोज हल)मा ३५० जना अटाउने क्षमता रहेको छ । शाहले भने, ‘यो हाम्रो परिवारिक व्यवसाय हो । यसमा म लगायत मेरो दुई जना दाई र मेरो एक जना साथी मिलेर सञ्चालन गर्नेछौं ।’

Advertisement

Advertisement