राजधानीबाट नजिकको जुगल हिमाल आरोहण खुल्ला भएसँगै सिन्धुपाल्चोकमा चहलपहल

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने पाँच वटा हिमालहरु आरोहणको लागि खुल्ला गरिएको छ । यससम्वन्धी मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यवसायिक आरोहणको बाटो खुलेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

सिन्धु पर्यटन परिषद्का महासचिव तथा जुगल गाउँपालिकाको पर्यटन विभागको अध्यक्ष मिलन तामाङले आरोहण खुल्ला गरेका हिमालहरु जुगल–१, जुगल–२, जुगल–३, जुगल–४, जुगल–५ छन् । काठमाडौंबाट नजिक रहेकाले यी हिमालहरु आरोहीहरुको लागि आकर्षण हुने उनको विश्वास छ । 

Advertisement

फुर्बा घेच्यु (६,७३७ मिटर), जुगल याङ्ग्री (६,५३५ मिटर), जुगल–५, ग्याल्जेन पिक (६,१५१ मिटर), जुगल–१, जुगल–२, जुगल–३ लगायत गरी ७ वटा हिमालहरु एउटै बेस क्याम्पबाट आरोहण गर्न सकिन्छ । सोह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भएको ७० वर्ष पुगेको अवसरमा केही दिनअघि आयोजित कार्यक्रममा यी हिमालहरु खुल्ला गरिएको घोषणा गरिएको हो । 

अब आगामी सिजनदेखि जुगल–१ (६,५९१ मिटर), जुगल–२ (६,५१८ मिटर), जुगल–३ (६,१८४ मिटर), जुगल–४ (५,९३६ मिटर) र जुगल–५ (५,९२२ मिटर) पर्वतारोहणका लागि खुला गरिएको छ ।

मिलन तामाङले हिमाल आरोहणको लागि खुल्ला गरिएसँगै जुगल क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकहरुको आगमनको संख्यामा वृद्धि हुने आशा व्यक्त गरे । उनले भने, ‘यहाँ हिमाल मात्र नभएर धार्मिक स्थलहरु, विभिन्न संस्कृतिक सामुदायका मानिसहरु पनि बसोबास गर्छन् । अब पदयात्रा र हिमाल आरोहणको आकर्षण पनि बढेको छ ।’ 

थोरै समय र थोरै खर्चमा हिमाल आरोहण गर्छु भन्नेहरु धेरै रहेकोले यी हिमाल उपयोगी हुने तामाङको तर्क छ । उनले थपे, ‘नेपालमा पर्यटकहरु हिमाल आरोहण गर्न बिदा लिएर आउनुपर्छ । जस्तै सगरमाथा आधार शिविर पुगेर फकिन १२–१४ दिन लाग्छ । तर जुगलमा थोरै खर्च र कम समयमा पनि फर्किन सकिन्छ ।’

जुगल हिमाल आरोहणको लागि बुकिङहरु पनि आउन सुरु भइसकेको छ । तामाङले एक–दुई बर्षमा जुगल क्षेत्रमा पर्यटकहरुको राम्रो चहलपहल हुने बताए । नेपाल पर्वतारोहण संघबाटै आरोहण अनुमति लिन पर्यटन विभागसँग संघको कुराकानी भइरहेको बताउँदै उनले त्यस्तो भयो भने सहज हुने जिकिर गरे । पर्यटन विभागले कम्तिमा पनि दुई वर्ष अनुमति निःशुल्क गर्न मन्त्रिपरिषरिषदमा प्रस्थाव पठाएको पनि तामाङले जानकारी दिए । अनुमति निःशुल्क भयो भने जुगल हिमालको झन प्रचार हुने उनले बताए । 

जुगल हिमाल आरोहण गर्न जाने क्षेत्रमा अहिले दुई ठाउँमा होमस्टे र त्यसभन्दा माथि माउन्टेन हट (काटको घर) रहेको छ । त्यो सरकारले निर्माण गरेको उनले जानकारी दिए । स्थानीयले पनि घरहरु निर्माण थालेको बताउँदै तामाङले नेपालमा पहिलो चोटी साहसिक यात्राका लागि प्रयोग गरिने ‘भिया फराता’ अर्थात् फलामको बाटो निर्माण गरिएको जानकारी दिए । जुगल हिमालकै आधार क्षेत्रमा धार्मिक महत्वको नेपेमाछल अर्को थप आकर्षक थलो हो । आठौं शताब्दीमा यो ठाउँमा गुरु रिन्पोचे (गुरु पद्मासम्भव)ले लामो समय बिताएको बुद्धिस्ट पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ ।

थप पाँचसहित नेपालमा आरोहण खुल्ला गरेका हिम चुचुराको संख्या ४१९ पुगेको छ । 

Advertisement

Advertisement