पोखरामा सिचुवान एयरलाइन्सको ‘चार्टर’ उडान हुनु सकारात्मक, ‘नियमित’ भए खुशी हुन्थ्यौं’

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले बुधबार (भोलि) पहिलो अन्तर्राष्ट्रिय उडान गर्दैछ । उक्त एयरलाइन्सले गर्न लागेको चार्टर उडानको समाचारले पोखराका व्यवसायी केही खुशी भए पनि धेरै विमान सेवाहरुले नियमित उडान नगर्दासम्म उनीहरु सन्तुष्ट हुने अवस्था छैन् ।  

पर्यटकीय नगरी पोखरामा यही जुन २३–२४ मा पहिलो अन्तर्राष्ट्रिय उडान र दक्षिण एशियामै पहिलो पटक ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ पनि हुन गइरहेको छ । यसले पोखरामा पर्यटकीय गतिविधि बढाउन मद्दत गरेको छ । 

Advertisement

यसपछि चार्टर उडानसँगै नियमित उडानको पनि अपेक्षा आफूहरुले गरेको पोखराका पर्यटन व्यवसायीहरु बताउँछन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सञ्चालनमा आएपछि पोखरामा व्यवसायिक उडानहरु हुन नसक्दा पोखरावासीका साथै व्यवसायीहरु निराश हुँदै आएका छन् । अर्बौं रुपियाँ ऋण लगानीमा निर्माण भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु हुन नसक्दा सो क्षेत्रमा लगानी बढाएका व्यवसायीहरुलाई बढी छटपटी भएको छ । सिचुवान एयरलाइन्सको एउटा उडान सकारात्मक भए पनि उनीहरुका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानबाट कम हुने र अन्तर्राष्ट्रिय उडानहरु नियमित हुने पर्यटन व्यवसायीहरुको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखरा विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आउनु ठूलो कुरा भए पनि सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेलीहरुलाई खिन्न तुल्याएको बताए । पोखरामा भएको पछिल्लो जहाज दुघटनाले पनि यसमा केही असर परेको उनको भनाई छ । 

पन्थीले बुधबार पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले गर्न लागेको पहिलो उडानले भने खुशी लागेको बताए । उनले भने, ‘भोलिको चार्टर उडानपछि पोखरामा कम्तिमा एउटा उडान हुने र नियमित तालिकामा हुने कुरामा हामी आशावादी छौं ।’

ड्रागन बोट रेसले पोखरामा चिनियाँसँगै अरु देशका पर्यटक पनि बढाउन मद्दत गर्ने बताउँदै पन्थीले यस्तो महोत्सव निरन्तर भइरहनुपर्ने बताए । उनले पोखरामा भारतीय पर्यटकहरुको चहलपहल राम्रो रहेको बताए । अहिले टे«किङको सिजन कम र पर्यटकको अफ सिजन भए पनि पोखरामा भारतीय पर्यटकहरु धेरै रहेको पन्थीले बताए । 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पनि पोखराको पर्यटकको मुख्य हिस्सा भारतीय र चिनियाँ भएको बताउँदै चिनियाँ एयरलाइन्स आउनु र ड्रागन बोट रेस हुनु भनेको चिनियाँ पर्यटक बढ्ने संकेत भएको बताए । 

ड्रागन बोट रेस महोत्सवमा सहभागी र अन्य गरी अहिले नै सयौं पर्यटक पोखरा आएको सुनाउँदै उनले चीनबाट मात्र नभएर सिंगापुरबाट पनि पर्यटकहरु आएको बताए । पोखरामा अन्तर्राष्ट्रिय उडान आएसँगै यसको सन्देश विश्वभर सकारात्मकरुपमा जाने अधिकारीले बताए । 

उनले थपे, ‘पोखरा विमानस्थल चीनकै सहयोगमा निर्माण भएको हो । सुरुवातको उडान पनि चीनबाटै भयो भन्ने यसले विश्वमा राम्रो सन्देश दिन्छ भन्ने लाग्छ ।’ अधिकारीले चिनियाँहरुको अब भ्रमण सुरु हुने बताउँदै प्रचारप्रसार बढाउन सकियो भने चिनियाँ पर्यटक धेरै भित्राउन सकिने बताए । 

होटल संघ नेपाल (हान)का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले हानकै पहलमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको दावी गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान मात्र भइरहँदा पोखराका होटल व्यवसायीहरु चिन्तित रहेको बताए । 

सुवेदीले भने, ‘अन्तर्राष्ट्रिय उडानलाई लिएर चिन्ता थियो । भोलिबाट अन्तर्राष्ट्रियले वायुसेवाबाट उडान हुने कुराले सकारात्मक नै छौं । तर चार्टर उडान हुँदैमा नियमित उडान सुरु भयो भन्ने चाहिं होइन् । आगामी दिनमा नियमित उडान पनि सुरु हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हो । अहिलेलाई चीनले चार्टर्ड उडान मात्रै गर्दिए पनि थप चिनियाँ पर्यटक नेपाल आउनसक्ने बताए । चिनियाँ पर्यटकको पहिलो रोजाई पनि पोखरा नै हो ।’ 

नेपाल एसोसिएसन अफ याफ्टिङ एजेन्सिज (नारा) गण्डकीका अध्यक्ष निमबहादुर मगरले सिचुवान एयरलाइन्सले चार्टर उडान भरेरै पोखरा आउने कुरा राम्रो हो भने । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर नकारात्मक टिकाटिप्पणी भइरहेको छ भन्दै उनले यसलाई नियमित बनाउन सकियो भने उपलब्धी हुने बताए । 

अहिले चीनले अन्तर्राष्ट्रिय उडान गरिसकेपछि आगामी दिनमा अन्य देशका एयरलाइन्स कम्पनीहरुले पनि पोखरामा उडान सुरु गर्नसक्ने मगरले बताए । 

Advertisement

Advertisement